काठमाडौं, चैत्र १४ । नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको ‘परफरमेन्स जोगाउन’ खोज्दा औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ हुन थालेको छ ।
प्राधिकरणले भारतबाट विद्युत खरिद गरेर ल्याउने गरेको र सोही विद्युत नेपालका उद्योगहरुलाई दिने गरिएको थियो । तर, पछिल्ला दिनहरुमा भारतीय बजारमा नै विद्युतको मूल्य उच्च भएका कारण प्राधिकरणले आयात नगर्दा नेपालका उद्योगले विद्युत पाउन सकेका छैनन् । प्राधिकरणले भारतबाट विडिङ मार्फत विद्युत खरिद गर्ने गरेको थियो । नेपाल विद्युत प्राधिकरणले पिक आवरमा नै विद्युत कटौती गर्न थालेको व्यवसायीले बताएका छन् । भारतबाट विडिङ मार्फत खरिद गर्दा पर्याप्त मात्रामा बिद्युत नपाइएको भन्दै प्राधिकरणले सूचना नै जारी गर्दै विद्युत कटौती गर्न थालेको उनीहरुको भनाई छ । प्राधिकरणले विडिङ मार्फत विद्युत नपाएको भन्दै शनिबार र आईतबार साँझ ६ बजेदेखि बिहान ३ बजेसम्म सूचना नै जारी गरेर विद्युत कटौती गरेको थियो । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले उद्योगीले गत मंगलबारदेखि नै पर्याप्त विद्युत नपाएको गुनासो गर्नुभयो ।
‘गत मंगलबार र बुधबार प्राधिकरणले बिनाजानकारी विद्युत कटौती गरेको थियो, हामीले गुनासो गरेपछि अहिले समस्या उस्तै हो, तर विद्युत कटौती हुनुपूर्व जानकारी आएको छ’, अध्यक्ष गुप्ताले भन्नुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्वल कसजु रुपन्देही क्षेत्रका उद्योगले विद्युत नपाएको र आएको समयमा पनि कम क्षमताको आएकोले समस्या उत्पन्न भएको बताउनुभयो । ‘अहिले विद्युत ट्रिपिङको समस्या व्यापक छ, यहाँ धेरै प्लास्टिक उद्योगहरु छन्, एक पटक मेसिन सञ्चालन गर्यो तात्न नपाउँदै विद्युत जान्छ, विद्युत आउँदासम्म मेसिन सेलाइसक्छ, बिना जानकारी विद्युत कटौती हुँदा मेसिनमा रहेको प्लास्टिक निकाल्दै १ डेढ घण्टा लाग्छ,’ अध्यक्ष कसजुले भन्नुभयो । उहाँले साँझको समयमा भन्दा बिहान दिउँसो विद्युत ट्रिपिङको समस्या रुपेन्देही क्षेत्रमा धेरै रहेको बताउनुभयो । ‘साँझको पिक आवरमा बरु खासै समस्या छैन, यता बिहान र दिउँसो समस्या धेरै छ,’ उहाँले भन्नुभयो ।
कसजुका अनुसार प्राधिकरणले बिना जानकारी आफुखुशी विद्युत कटौती गर्दा रुपन्देही क्षेत्रका उद्योगीलाई धेरै समस्या हुने गरेको छ । सिद्धार्थ नगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्मप्रसाद न्यौपाने भने प्राधिकरणले रातभर उद्योग नचालउन मौखिक जानकारी गराएको बताउनुहुनछ । ‘प्राधिकरणबाट लिखित रुपमा भनिएको त होइन तर, मौखिक रुपमा बेलुका ६ बजेदेखि विहान ६ बजेसम्म ११ र ३३ केभीए प्रसारण लाइनको उद्योग नचलाउनु भन्ने अनुरोध आएको छ, हामीले पनि चलाएका छैनौं,’ अध्यक्ष न्यौपानेले भन्नुभयो । संघले भैरहवा क्षेत्रका उद्योगहरुलाई रातको समयमा नचलाउन प्राधिकरणबाट अनुरोध आएको जानकारी गराएको छ । उहाँले महंगोमा विद्युत खरिद गरेर भएपनि उद्योगलाई पर्याप्त मात्रामा विद्युत दिनुपर्ने बताउनुभयो । प्राधिकरणका प्रवक्ता सुरेशवहादुर भट्टराईले भारतबाट विडिङबाट पर्याप्त मात्रामा विद्युत नपाउँदा उद्योगीले मागेजति दिन समस्या भएको बताउनुभयो ।
‘विडिङबाट बिजुली पाएको अवस्थामा उद्योगलाई बिजुली दिने हो, एकै समयमा धेरैले बिडिङ गर्दा अहिले नपाउने समस्या भएको छ, विडिङबाट बिजुली नपाउँदा उद्योगलाई आवश्यकता अनुसार बिजुली दिन समस्या भयो,’ भट्टराईले भन्नुभयो । उहाँले प्राधिकरणले समय नै तोकेर विद्युत कटौती नगरेको दाबी गर्नुभयो । केही स्थानमा काटौती भए पनि धेरै ठाउँमा विद्युत सुचारु भएको उहाँले भनाई छ । प्राधिकरणले यसअघि भारतबाट महंगो शुल्कमा विद्युत खरिद गरेर भएपनि उद्योगीलाई विद्युत दिने घोषणा गरेको थियो । प्राधिकरणले नेपालमा अब लोडसेडिङ नहुने तथा विद्युतको खपत बढाउनु पर्ने तर्क गरिरहेको थियो । उद्योगले विद्युत नपाएको गुनासो गरेपछि गत बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै सोही साँझदेखि नै औद्योगिक क्षेत्रले नियमित विद्युत पाउने दाबी गर्नुभएको थियो । उहाँले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा विद्युत खरिद गरेर भएपनि बिहीबारसाँझदेखि नियमित रुपमा विद्युत आपूर्ति हुने बताउनुभएको थियो । प्राधिकरणले यस्तो दाबी गरेपनि आफूहरुले पर्याप्त मात्रामा विद्युत नपाएको उद्योगीको गुनासो छ ।
भारतबाट सस्तो मूल्यमा पाउँदा मात्रै विद्युत उपलब्ध गराउने र केही महंगो हुने वित्तिकै आपूर्ति रोकेर प्राधिकरणले गैरजिम्मेवार काम गरेको एक उद्योगीले बताउनुभयो । ‘प्राधिकरणका कार्यकारी निर्देशकले प्रतियुनिट ३८ रुपैयाँमा किनेर उद्योगलाई ९ रुपैयाँमा विद्युत दिइरहेका छौं भनेर पत्रकार सम्मेलन नै गर्नुभयो, तर उद्योगले विजुली पाएका छैनन्, प्रतियुनिट ४÷५ रुपैयाँमा विद्युत पाउँदा हामीलाई बढी खपत गर भन्ने, जति पनि दिन्छौं भनेर हामीसँग सम्झौता नै गर्ने तर केही महंगो हुने वित्तिकै लोडसेडिङ गर्ने ? यो त सम्झौताको उल्लघन हो, विद्युत प्राधिकरणले अहिले गरे जस्तै व्यवहार आयाल निगमले गर्ने हो भने त नेपालमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास नै नपाइने रहेछ,’ एक उद्योगीले भन्नुभयो । उहाँले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको परफरमेन्स जोगाउन प्राधिकरणले उद्योगलाई विजुली नदिएको आरोप पनि लगाउनुभयो । ‘प्राधिकरणलाई यति अर्ब नाफामा लग्यौं भनेर उहाँहरुलाई देखाउने रहर होला त्यसैले अलिकति महंगो हुने वित्तिकै विद्युत आयात बन्द गरिदिनु हुन्छ, विद्युत भएन भने उद्योग चलाउन सकिदैन, विद्युत आयात रोकिदा नेपालमा चल्ने उद्योग बन्द हुने भए, उद्योग बन्द गरेर आयात बढाउने र व्यापार घाटा अझै बढाउने प्राधिकरणको भूमिका हुनुहुदैन,’ ती उद्योगीले थप्नुभयो । अर्का एक उद्योगीले आफूहरुसँग पीपीए गरेभन्दा बढी विद्युत उपलब्ध भएपनि प्राधिकरणले खरिद नगरेको आरोप लगानुभयो। निजी क्षेत्रका उर्जा उत्पादकहरुसँग अहिले कम्तिमा पनि १ करोड युनिट विद्युत थप उत्पादन गर्न सक्ने क्षमता भएकोले प्राधिकरणले त्यसको उपयोग गर्नुपर्ने उहाँको भनाई छ ।
‘अहिले निजी क्षेत्रका उर्जा उत्पादकसँग पीपीएबाहेकको कम्तिमा पनि १ करोड युनिट विद्युत छ, यो वर्ष चाढै गर्मी लागेकोले हिउ पग्लिएर बढी उत्पादन हुन सक्ने अवस्था सिर्जना भएको हो, प्राधिकरणले प्रतियुनिट ९ रुपैयाँमा खरिद गर्छु भन्ने वित्तकै थप १ करोड युनिट विद्युत पाउने अवस्था छ, यस्तो अवस्था स्वदेशमै भएको बेलामा भारतबाट प्रतियुनिट ३८ रुपैयाँ तिरेर विद्युत ल्याउनै पर्दैनथ्यो,’ ती उद्योगीले भन्नुभयो । उहाँले १ करोड युनिट विद्युत आयातमा प्राधिकरणलाई २९ करोड रुपैयाँ लाभ हुने अवस्था भएपनि प्राधिकरणले त्यसरी विद्युत खरिद नगरेको बताउनुभयो । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भन्नुभयो यो कुरा मान्न तयार छैनन् । निजी क्षेत्रका उर्जा उत्पादकसँग विद्युत खरिद गर्ने जिम्मेवारी आफ्नै विभागको भएको भन्दै उनले थप विद्युत दिन सक्ने उद्योगीले आफूसँग सम्पर्क गर्न आग्रह गर्नुभयो । कुनै उत्पादकसँग थप विद्युत छ भने मलाई नै आएर भन्नुहोस्, मैले नै खरिद गर्ने हो, खरिद गर्छु, सस्तो लोकप्रियताको मिडियामा भन्दै हिडेर हुँदैन, भारतमा प्रतियुनिट ३८ रुपैयाँले विद्युत खरिद गरिरहेका छौं भने नेपालमा त्योभन्दा सस्तो दरमा विद्युत नपाउने भन्ने कुरा नै हुँदैन,’ भट्टराईले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्