सिमकोट, २० चैत । हुम्ला लिंकरोडअन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो । ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री) ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिनुभयो ।
ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको मध्ये ३० किलोमिटर सडक आज कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । हुम्लाको चंखेली गाउँपालिकादेखि मुगु सिमानाको देउली हुम्ला सडक खण्ड हस्तान्तरण गरिएको हो । मुगु सदरमुकामको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका हुँदै देउली दार्मासम्म उत्कृष्ट तवरले सडक निर्माण गरी आइतबार हस्तारन्तरण गरिएको हो ।
चंखेली गाउँपालिका वडा १, २, र ३ का नागरिकका साथै अन्य हुम्लीबासीले अबका दिनमा सहजैरुपमा गाडीमार्फत जिल्ला बाहिर आवतजावत गर्न पाउने भएका छन् । हुम्लाको दक्षिण भेगका नागरिकलाई आवतजावतमा सहजका साथै बिरामीलाई समेत उपचारका लागि जिल्ला बाहिर लिन सहज हुनेभएको छ । कार्यक्रमले यसअघि निर्माण गरेको २६ किलोमिटर सडक सन् २०२० मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।
सडकको नियमित मर्मतसम्भार गर्ने गरी प्रदेश सरकारलाई बुझाइएको कार्यक्रमका परियोजना व्यवस्थापक विष्णुराम विष्टले बताउनुभयो । उहाँका अनुसार चंखेलीदेखि हुम्लाको दार्मा देउलीसम्मको ३० किमी सडक पूरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । सन् २०१८ देखि निर्माण सुरु गरिएको सडक निर्माणको काम सम्पन्न भएको छ ।
सडक निर्माणको काम भएपछि हुम्ला र मुगुका झण्डै दुई दर्जन बस्तीहरू सडक सञ्जालमा जोडिएको चंखेली गाउँपालिका उपाध्यक्ष चौलागाईंले बताउनुभयो । स्थानीयलाई रोजगारी दिएर सडक निर्माण गर्दा विपन्न नागरिकले रोजगारीको अवसरसमेत पाएको ग्रामीण पहुँच कार्यक्रमले जानकारी दिएको छ ।














प्रतिक्रिया दिनुहोस्