जनता टाइम्स

५ बैशाख २०७९, सोमबार १२:१६

पाँच वर्षमा वडाको बजेट १३ लाख मात्र, स्थानीय आक्रोशित


मुगु, ५ वैशाख । मुलुकमा संघीयता लागू भएर सिंहदरबारको अधिकार गाउँमा आएको भनिए पनि मुगुवासीले त्यो अनुभूति गर्न पाएका छैनन् । जनताको आधारभूत आवश्यकता पूरा गर्ने भनेको वडा सरकारले हो, तर गाउँ र नगरका वडामा खानेपानी, सिँचाइ, कुलो, बिजुलीलगायतका विकास योजना नहुँदा स्थानीय मारमा परेका छन् । यस्तै अवस्था छ, छायानाथ रारा नगरपालिका–१४ बाममा ।

वडाध्यक्ष नन्दलाल बडुवालले पाँच वर्षसम्म एउटा पनि सम्झनलायक काम नगरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । वडा सरकारले जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नेबारे केही काम नगरेको स्थानीय राजेश बडुवालले बताउनुभयो । बाम गाउँको विकासमा बरु ग्रामीण पहुँच कार्यक्रम र्याप थ्री र अन्य गैरसरकारी संघ संस्थाले काम गरेको उहाँको भनाइ छ ।

वडाध्यक्ष नन्दलाल बडुवालले भने पाँच वर्षको अवधिमा छायानाथ रारा नगरपालिकाबाट १३ लाख बजेट मात्र विनियोजन गरेकाले केही राम्रो काम गर्न नसकेको बताउनुभयो । नगरपालिकाले दिएको बजेट वडाको प्रशासनिक खर्च, कर्मचारी तलब, सञ्चारलगायतमै सकिने उहाँको भनाइ छ । शनिवार सञ्चालन भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ को सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

वडा कार्यालयमा आम्दानीको अन्य स्रोत नहुनु, राजनीतिक खिचातानीले वडाध्यक्षको नगरपालिकामा पहुँच नपुग्नु, पुगे पनि समन्वयकारी भूमिका नहुनाले पाँच वर्षमा १३ लाख मात्र रकम विनियोजन भएको वडाध्यक्ष बडुवालले बताउनुभयो । वडा नम्बर १४ कार्यालयमा प्रायः प्रदेश, गैरसरकारी कार्यालयले प्रदान गरेका बजेटको ६३ वटा योजना छन् । जसमा चार करोड ४९ लाख ४४ हजार खर्च भएको उहाँले सुनाउनुभयो ।

छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा पाँच वर्षमा एकपटक मात्र सार्वजजिक सुनुवाइ गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । कार्यकालको अन्तिममा सार्वजनिक सुनुवाइ गर्नुको कुनै सार्थकता नभएको स्थानीय जुनबहादुर खड्काले बताउनुभयो । अहिले सार्वजनिक सुनुवाइ गरेर चुनावको मुखमा जनतालाई भ्रम फैलाउने काम भएको स्थानीयको आरोप छ ।