जनता टाइम्स

६ बैशाख २०७९, मंगलवार १६:५१

‘नैतिकता’ भन्दै एन्फाबाट राजीनामा दिएका शर्मा फर्किए


काठमाडौं, ६ वैशाख । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) हुने निश्चित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटी संयोजकबाट राजीनामा दिएकाका विज्ञानराज शर्माले राजीनामा फिर्ता लिनुभएको छ । २० फागुनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गर्दै ‘लिग कमिटीको संयोजकबाट राजीनामा पेश’ गरेका शर्माले सोमबार भएको कमिटीको बैठकमा भने अध्यक्षता गर्नुभयो ।

स्थगित भएको सी डिभिजन लिग र हालै सम्पन्न बी डिभिजन लिगबारे छलफलका लागि बसेको बैठकमा शर्माले अध्यक्षता ग्रहण गर्नुभएको हो । ‘उहाँको राजीनामा फिर्ता भएको छ र उहाँकै अध्यक्षतामा हिजो बैठक सम्पन्न भयो ।’ लिग कमिटीका एक सदस्यले भन्नुभयो ।

जुन बैठकले बी डिभिजन लिगका क्रममा भौतिक सामग्री तोडफोड गरेको भन्दै नयाँ वस्ती युथ क्लबलाई तीन लाख जरिवाना साथै खेलाडी, अफिसियल र व्यवस्थापकलाई फुटबल गतिविधिमा केही समय संलग्न हुन नपाउने गरी कारबाही गरेको थियो । चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएलमा शर्माले काठमाडौं रेजर्सबाट प्रतिनिधित्व गर्नुभएको छ । पहिलो संस्करणका क्लब च्याम्पियन बन्दा नै शर्मा क्लबको डाइरेक्टर हुनुहुन्थ्यो ।

यसपछि उहाँले दोस्रो संस्करणमा भने दोहोरो भूमिकामा रहन नहुने भन्दै नैतिकताको आधारमा राजिनामा दिनुभएको थियो । ‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्लबको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अप्ठयाराहरू आउन सक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरू पनि जोडिन जाँदा राजिनामा पेश गरेको छुँ ।’

शर्माले पत्रमा लेख्नुभएको थियो । तर, २५ चैतबाट हुने तय भएको एनएसएल विवादका कारण अनिश्चित बनेको छ । एनएसएल आयोजना र यसको अस्तित्वको विषयमा प्रश्न उठेपछि एनएसएस आयोजनाबाट पछि हटेको हो ।

पछि शीर्ष डिभिजन क्लबले समेत एन्फालाई प्रश्न गरेपछि शर्माले एन्फाबाट हात झिकेर एनएसएललाई सहयोग गरेका थिए । तर, दोस्रो पटक आयोजना हुने तयारीमा रहेको एनएसएल अक्सनपछि अनिश्चित बनेको छ । एनएसएलमा जोडिएसँगै एन्फाबाट हात झिकेका शर्माको यो प्रवृत्तिलाई एन्फाभित्रैबाट देखावटी राजीनाको आरोप लागेको छ ।