जनता टाइम्स

८ बैशाख २०७९, बिहीबार १६:१६

कर्णालीमा सत्तागठबन्धनको पटक-पटक बैठक, भागबण्डा मिलाउन बैठक मात्रै, परिणाम कहिले ?


सुर्खेत, ८ वैशाख । कर्णाली प्रदेशका १० जिल्लामा भागबण्डाका लागि सत्तारुढ दलको बैठक पटक-पटक बसे पनि अझै सहमति हुन सकेको छैन । सबै जसो दलले एक्ला एक्लै निर्वाचनमा जाने आसयको पत्र आएपछि प्रदेश स्तरको सत्तागठबन्धन टोलीले सहमति गर्न नसकेको हो । दिनमा एक पटक पार्टीको बैठक र गठबन्धनको बैठक गरे पनि निकास भने अझै निस्किएको छैन ।

आज पनि बैठक हुने नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताउनुभयो । कसैले पनि आ-आफ्ना हट नत्याग्ने हो भने अन्तिममा मित्रवत प्रतिस्पर्धा नै हुने सम्भावना भएको उहाँले बताउनुभयो । सहमतिको नाममा सहमति गर्न नसकिने निश्कर्षमा माओवादी पुगेको स्रोतले बताएको छ । नेपाली कांग्रेसले पनि भागबण्डाभन्दा मित्रवत रुपमै चुनाव लड्न चाहेको एक नेताले बताउनुभयो ।

‘समाजवादी कम्जोर अवस्थामा छ, उसैले बढी भाग माग्छ, कसरी हुन्छ सहमति ?’ उहाँले भन्नुभयो । १५ पटकभन्दा बढी बैठक भए पनि सहमति हुन नसकेको उहाँ बताउनुहुन्छ । समाजवादीका नेताहरू भने हैसियतभन्दा पनि सहमति महत्वपूर्ण भएको बताउँछन् । गठबन्धनमा को बलियो को कम्जोर भनेर नगरेको उनीहरू बताउँछन् । चुनावमा टिकट पाउन शक्ति केन्द्र धाउनेको संख्या पनि बढेको छ ।

रुकुम पश्चिमको टिकटका लागि गुनासोको पोको बोकेर गएको कांग्रेस टोली केन्द्रीय नेताले वास्ता नगर्दा निरास भएर फर्केको बताइन्छ । समाजवादी जाजरकोटका अध्यक्ष कमानबहादुर खड्का पनि काठमाडौँमै छन् । कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछायाँ शाही सुर्खेतमा हुनुहुन्छ । हिजो मात्रै पनि मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यकक्षमा कांग्रेस नेताहरूको बैठक बसेको थियो ।