जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार १६:३१

३१ अंकले घट्यो सेयर बजार


काठमाडौं, २१ वैशाख । नेपाली सेयर बजार नेप्से आज ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । आज दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको छ । आज नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । मंगलबार सार्वजनिक बिदाले बन्द रहेको सेयर बजार नेप्से सोमबार ४८ अंकले ओरालो लागेको थियो ।

नेप्सेमा आज कारोबार रकम समेत ओरालो लागेको छ । नेप्सेमा आज ३६ लाख दुई हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सोमबार एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से बजार आजमा अधिकांश कम्पनीले घाटा व्यहोरेका छन् ।

बजारमा १९८ कम्पनीको सेयर घाटामा कारोबार हुँदा २४ कम्पनीका सेयरधनीले नाफा कमाएका छन । नेप्सेमा आज एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार भएको छ । जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १२५ रुपैयाँ बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ ।