जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १६:४७

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर मृत


सुर्खेत, १८ जेठ । यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ । मुगुको कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए ।

आज बिहान हेलिकोप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । सहायक प्रहरी हवल्दार सिंहको घर बाँके कोहलपुर नगरपालिका–११ हो । उहाँ ०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई ०७७ सालदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।