जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १६:०२

यार्सा टिप्‍न जाँदा मुगुमा दुई दिनको अन्तरमा दुई जनाको मृत्यु


मुगु, २१ जेठ । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए ।

पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्‍न गएका थिए ।  तर, लेक लागेर सिकिस्त बिरामी भएका थिए । उनलाई बोकेर घरतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा मुत्यु भएको मुगुम कार्मारोङ गाउँपालिका–७ का वडा अध्यक्ष शशांक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि बुधबार राजबहादुर सिंहको लेक लागेर मृत्यु भएको थियो ।

उहाँ यार्सा सङ्‍कलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी हवल्दार हुनुहुन्थ्यो । उहाँलाई कोइकी पाटनमा लेक लागेको थियो । लेक लागेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उहाँलाई कोहलपुर शिक्षण अस्पतालमा पुर्याइएको थियो । उहाँको त्यहाँ उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले बताउनुभयो ।

यार्सा टिप्‍न जाँदा ‘हाईअल्टिच्युड’का कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधी उपचार नहुँदा वर्षेनी अकालमा धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । यार्सा टिप्‍न भन्दै ज्यानको बाजी थापेर समुद्री सतहदेखि करिब ४५ सयदेखि ५५ मिटर उचाइको हिमरेखा क्षेत्रमा सर्वसाधारण यार्सा सङ्‍कलन गर्न जाने गरेका छन् ।