जनता टाइम्स

२५ जेष्ठ २०७९, बुधबार १९:११

हिमालयन डिष्टिलरीले गर्यो समता शैक्षिक गुठीलाई २५ लाख सहयोग


ललितपुर, जेठ २५ । हिमालयन डिष्टिलरी लिमिटेडले समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको सो डिष्टिलरीले आर्थिक बर्ष २०७७÷०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट सो सहयोग हस्तान्तरण गरेको हो ।

समता शैक्षिक गुठीद्वारा मुलुकभर ८४ वटा विद्यालयहरु संचालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तर सम्मका शैक्षिक कार्यक्रमहरु संचालित छन भने करिव ७० हजार विद्यार्थीहरु लाभान्वित भएको दावी उक्त गुठीको रहेको छ । यो गुठीले प्रतिविद्यार्थी प्रतिमहिना एक सय रुपैयाँ मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरुलाई अध्यापन गराईरहेको जानकारी गराएको छ ।

सो समता शैक्षिक गुठीलाई एक कार्यक्रमबीच हिमालयन डिष्टिलरी लिमिटेडको संचालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले सम्मानित व्यक्तित्व तथा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तमकुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई सो रकम बरावरको चेक कम्पनीको सम्पर्क कार्यालय, जावलाखेल ललितपुरमा हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलाको उपस्थिति रहेको थियो ।