जनता टाइम्स

२६ असार २०७९, आईतवार १६:१४

कर्णालीको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको आरोप


सुर्खेत, २६ असार । आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हावी भएको बताउनुभयो ।

‘हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाउनुभयो । प्रदेशसभामा बजेटमाथिको छलफलमा उहाँले विधिमा सरकार चल्न मन्त्रीका छोराछोरी बाधक भएको आरोप लगाउनुभयो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, जलस्रोत तथा उर्जा विकास मन्त्री र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन् ।

आफूहरूले दिएको योजना समावेश नगरेको भन्दै प्रदेशसभा सदस्य कृष्णा शाहले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायलाइ बधाइ दिनुभयो । अधिकांश सांसदले बजेट निर्माण गर्दा योजना माग्ने तर समावेश नगर्ने परिपाटीले गर्दा समस्या उत्पन्न भएको बताएका छन् ।