जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार ०९:२४

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण


वासिङ्टन डिसी, ६ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उहाँलाई संक्रमण भएको पुष्टी व्हाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गर्नुभएको हो । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको व्हाइट हाउसले जनाएको छ । उहाँले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भन्नुभयो । राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने व्हाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उहाँका चिकित्सक डा. केविन ओ कोनोरले बताउनुभएको छ ।