म्याड्रिड, १५ साउन । स्पेन सरकारले अनुमति बिना आफ्नो तस्बीर प्रयोग गरेर कृत्रिम खुट्टा सम्पादन गरेपछि एक बेलायती मोडल क्रुद्ध बन्नुभएको छ । तस्बीरलाई स्पेनको समानता मन्त्रालयले सुरु गरेको शारीरिक सकारात्मकता अभियानको हिस्साको रूपमा प्रयोग गरिएको थियो । तर, ३२ वर्षीया सियान ग्रीन–लर्डले आफूले अभियानबारे साथीहरूले सन्देश पठाएपछि मात्र थाहा पाएको बताउनुभयो ।
आफ्नो तस्बिर अनुमतिबिना अभियानमा प्रयोग भएको भन्दै आपत्ति जनाउने उहाँ दोस्रो महिला हो । यसअघि शुक्रबार लन्डनकी न्योम निकोलस–विलियम्सले आफ्नो इन्स्टाग्राम पृष्ठको तस्बीर स्पेनिस इन्स्टिच्युट फर वुमनले जारी गरेको पोस्टरमा प्रयोग गरिएको बताउनुभएको थियो । ‘गर्मी हाम्रो पनि हो’ भन्ने नाराको मुनिको समुद्री तटमा स्तनको शल्यक्रिया गरिएकी एक जनासहित पाँच जना महिलाको दृष्टान्त अभियानमा प्रस्तुत गरिएको छ ।
ग्रीन–लर्ड तस्बीरको तल बायाँ देखिनुहुन्छ । आफ्नो कृत्रिम खुट्टा हटाउनका लागि फोटा सम्पादन गरिएको देखेपछि आफू रिसले आगो भएको उहाँले बताउनुभएको छ । आफ्नो स्वीमस्वीट पनि परिवर्तन गरिएको उहाँको गुनासो छ ।सन् २०१३ मा न्यूयोर्कमा छुट्टी मनाउने क्रममा ट्याक्सीले ठक्कर दिएपछि उहाँको खुट्टा काटिएको थियो । दुर्घटनाको समयमा उहाँ म्यानहटनमा एक साथीसँग हिँडिरहनुभएको थियो । यसैबीच, अनुमति बिना तस्बीर प्रयोग गरेकोमा अभियानका निर्माताले माफी माग्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्