जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार १७:४५

मिस युनिभर्स नेपालको टप २० मा डा.आयुष्नोभा


काठमाडौं, साउन १७ । डाक्टर आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा पर्न सफल हुनुभएको छ । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको हो ।

काठमाडौंकी डा. आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी मोनालिसा पराजुली, बुटबलकी रेनुका चौधरी, झापाकी दिक्षा खाती, मंगलबजारकी प्रतिभा महर्जन, क्यानाडाकी सामना कार्की, अष्ट्रेलियाकी विपना अधिकारी, वर्दियाकी मोनिका चौधरी, धुम्बाराहीकी सोफिया भुजेल, चितवनकी प्रियांशु महत, काठमाडौंकी आकृति मानन्धर, बुटबल, अनु अनमोल क्षेत्री, अष्ट्रेलिया आश्मा केसी तथा बागबजारकी सेफिना जोशी अन्तिम चरणका लागि छनोट हुनुभएको हो ।

सूचीअनुसार २० जना प्रतिस्पर्धीमध्ये चिकित्सा क्षेत्रबाट आयोष्नोभा एक जनामात्र छनोट हुनुभएको छ । मिस यूनिभर्स नेपालकी नेसनल डाइरेक्टर नगमा श्रेष्ठका अनुसार क्वाटरफाइनलका लागि छनोट भएका प्रतिस्पर्धीहरुलाई तीनव टा टास्क दिइएको थियो । त्यसँगै भोटिङ राउन्ड पनि खुला गरिएको थियो । तीनवटै टास्कका लागि निर्णायक पनि थिए ।

निर्णायक र भोटिङबाट आएको मतबाट पनि उत्कृष्ट २० को छनोट गरिएको हो । उत्कृष्ट २० मा छनोट भएका प्रतिस्पर्धीहरुलाई १० दिनसम्म क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपछि आगामी ९ भदौमा आयोजना गरिने ग्रान्ड फिनालेमार्फत मिस युनिभर्स नेपाल २०२२ को छनोट गरिने छ । प्रतियोगिताको पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धी चयन भएका छन्। उनीहरू सबै अनलाइन अडिसनबाट चयन भएका हुन्।

आयुष्नोभाले गत वर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गर्नुभएको छ । बंगलादेशबाट पढाइ सकेर नेपाल फर्किनु भएकी डा. आयुष्नोभा अहिले नेपालमै विरामीको सेवा गरिरहनु भएको छ । छालारोगसम्बन्धी सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा हुनुहुन्छ। छाला झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफू छाला रोगको चिकित्सक बनेको उहाँको भनाइ छ।

यसपटक आफू सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा भिडिरहेको उहाँको भनाइ छ । डाक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्ने आफ्नो लक्ष्य भएको उहाँले बताउनु भयो ।