जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार ११:०३

राष्ट्र बैंकद्वारा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा


काठमाडौं, २२ भदौ । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०७८ साल कात्तिक ७ देखि कात्तिक १२ गतेसम्म गरेको समष्टिगत स्थलगत निरीक्षण र २०७८ मंसिर १३ गतेदेखि १६ गतेसम्म गरेको विशेष निरीक्षण प्रतिवेदनको आधारमा सुपरलाई समस्याग्रस्त घोषणा गर्नलाई संचालक समितिलाई प्रस्ताव गरेको थियो।

राष्ट्र बैंकका अनुसार असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको छ ।

त्यस्तै प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा उक्त संस्थालाई मिति २०७८/१२/०२ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।