जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार २२:१६

‘पहिला हाम्रो २ अर्बको बिल तिर्नुस् अनि हामि कर तिर्छौं’– विद्युत् प्राधिकरण


काठमाडौं, २२ भदौ ।  काठमाडौं महानगरपालिका र विद्युत् प्राधिकरणबीच बक्यौता रकम तिर्ने विषयमा असमझदारी उत्पन्न भएको छ । महानगरपालिकाले सम्पत्ति कर बुझाउन भन्दै प्राधिकरणलाई आग्रह गरेपछि प्राधिकरणले पनि महानगरको अर्बौं रकम बक्यौता रहेको दाबी गरेको छ ।महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार प्राधिकरणले सम्पत्ति करबाट मात्रै १४ करोड रुपैयाँ तिर्नुपर्ने हिसाब देखिएको छ । उहाँले भन्नुभयो , ‘हामीले निकालेको मोटामोटी हिसाबमा प्राधिकरणले सम्पत्ति करबाट १४ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

प्राधिकरणले सम्पत्ति विवरण हामीलाई बुझाएको छैन । यो रकम अझै बढ्न सक्छ । ’ महानगरपालिकाले सम्पत्ति कर १४ करोड रुपैयाँ तिर्नुपर्ने मौखिक हिसाब निकालेपछि प्राधिकरणले महानगरको पनि २ अर्ब रुपैयाँ विद्युत् बक्यौता रहेको दाबी गरेको छ । प्राधिकरणका अर्थ निर्देशनालय प्रमुख लोकहरी लुईंटेलले काठमाडौं महानगरको नाममा २ अर्ब रुपैयाँ बक्यतौ देखिएको बताउनुभयो । उक्त रकम महानगर क्षेत्रमा राखिएको सडक बत्तीको भएको लुईंटेलको दाबी छ । महानगरले ०७३/०७४ सालदेखि सडक बत्तीको बिल भुक्तानी नगरेको उहाँले बताउनुभयो । त्यसअघि नेपाल सरकारले सबै स्थानीय तहको विद्युत् बक्यौता तिरिदिएको लुईंटेलले बताउनुभयो । हाल देशभरका स्थानीय तहको विद्युत् बक्यौता ५ अर्ब रुपैयाँ रहेको लुईंटेलले बताउनुभयो ।

प्राधिकरणले विद्युत् महसुल बाकी रहेको बताए पनि काठमाडौं महानगरपालिकाले भने इन्कार गरेको छ । महानगरपालिकाले हचुवाको भरमा प्राधिकरणले चुहावटलगायत अन्य हिसाब महानगरको नाममा बक्यौता राखिदिएको दाबी गरेको छ । महानगरका राजस्व विभाग प्रमुख अधिकारीले भन्नुभाये ,‘हामीले तिर्नुपर्ने धेरै हिसाब नै छैन । प्राधिकरणले अन्य ठाउको चुहावट र उसको हिसाब मिलाउनका लागि सबै रकम काठमाडौं महानगरको नाममा बाक्यौता राखिदिन्छ ।’ प्राधिकरणका अर्थ निर्देशनालय प्रमुख लुईंटेलले भन्नुभयो महानगरले बुझाएको विवरणमै आधार भएर हिसाब निकालिको दावी गर्नुभयो ।