जुम्ला, २८ असोज । अविरल वर्षाका कारण जुम्लाको जनजीवन प्रभावित बनेको छ । जुम्ला सडक खण्डमा ठाउँ–ठाउँमा ठूलो पहिरो गएको छ । बाढी पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ । नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएको छ ।
जसकारण राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ । त्यो क्षेत्रमा सशस्त्र प्रहरीका एसपी चित्रंगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दसहितका सुरक्षा निकाय प्रमुख खटिएका छन् ।
कर्णाली राजमार्गको रारालिहीमा तीनवटा स्काभेटर लगातार काम गरिरहेका छन् । ब्रेकरलेसमेत काम गरे पनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था आएको नन्दबक्सका गणपति थापाले बताउनुभयो । सेनासहित सुरक्षा निकाय प्रमुखहरू राजमार्गमा खटिएका छन् । नाग्म–गमगडी राजमार्गको ८ देखि १० स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको छ ।
हिमा गाउँपालिका नाग्म गमगडी राजमार्गको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो गएको छ । त्यस क्षेत्रमा स्थानीय तहको सक्रियतामा सडक सुचारु गरिएको छ । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजामा सडक सुचारु गर्न स्काभेटरले काम भइरहेको बताउनुभयो । उहाँका अनुसार हिमा क्षेत्रमा बढी पहिरो गएको छ ।
कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यका अनुसार कनकासुन्दरी क्षेत्रको राजमार्गमा स्थानीय तहले स्काभेटर लगाएर काम अघि बढाएका छन् । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमा गाउँपालिका क्षेत्रमा पहिरो पञ्छाउने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार केही स्थानमा बाटोको निसाना नै नभएकाले नयाँ बाटो खोल्ने काम भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्