जनता टाइम्स

१६ कार्तिक २०७९, बुधबार १८:५९

न्यालु लेकमा जमेको हिउँ पन्छाउन सुरु, चाडै यातायातको साधन चल्ने


सुर्खेत, १६ कात्तिक । हुम्लाको पाँच हजार मिटरमा रहेको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायातका साधन सञ्चालन गर्ने प्रयास सुरू भएको छ । नाम्खा गाउँपालिका–६ को लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो स्थानको हिउँ फाल्न थालिएको हो ।

बस चालक सिंगम भण्डारीले करिब एक महिनादेखि अवरुद्ध सडक खण्ड अब चाडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । यसका लागि सडकमा जमेको हिउँ फाल्न सुरु भएको तर हिउँ बाक्लो जमेका कारण पन्छाउन कठिन भइरहेको बताउनुभयो । कति दिनमा हिउँ फालेर सकिन्छ एकिन भने नभएको उहाँले बताउनुभयो । न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ ।

१० दिनअघि पनि हिउँ पन्छाउने कोसिस भए पनि सकिएको थिएन । अहिले पुनः हिउँ फाल्न थालिएको छ । एक साताअघि लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोली पैदलै हिउँ छिचोल्दै लिमी पुगेको थियो । त्यसयता अन्य लिमी जान सकेका छैनन् । न्यालु र नारा लेकमा हिउँ जमेकै कारण ४ मंसिरको निर्वाचनका लागि राजनीतिक दलहरू र पार्टीका नेता समेत लिमी पुग्न सकेका छैन ।