जनता टाइम्स

२२ मंसिर २०७९, बिहीबार ०८:२५

‘जसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्छ उही दलसँग सहकार्य हुन्छ’


दाङ, मंसिर २२ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउने दलसँग सहकार्य हुने बताउनु भएको छ ।

माओवादीको समर्थनमा एमालेबाट केपी ओली र कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेकाले अब प्रधानमन्त्री बन्ने पालो माओवादी अध्यक्ष प्रचण्डको भएको मुख्यमन्त्री केसीको भनाइ छ ।

दाङको भालुवाङमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री केसीले अब पार्टीले जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुन्छ उसैलाई सरकार संचालनमा सहयोग गर्ने बताउनु भयो ।

‘अबको नयाँ सरकारको जुन दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुनुपर्छ,’ केसीले भन्नुभयो । उहाँले निर्वाचन अगाडिको सहकार्यमा नेपाली कांग्रेस पनि इन्मारदारिता नभएकाले अब नयाँ सिराबाट सहकार्यको थालनी गर्नुपर्ने बताउँदै अब माओवादीले प्रधानमन्त्रीको अडान नछाड्ने बताउनु भयो ।

नेपाली कांगे्रसबाट भर्खरै मात्रै प्रधानमन्त्री देउवालाई र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेकोले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार्नु पर्ने वस्तुगत अवस्था रहेको उनको तर्क थियो ।

‘नेपालमा यदि परिर्वनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्ड नै हुनुहुन्छ उहाँलाई नै अगाडि माओवादी केन्द्रले सारेका छौं, जसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्छ उही दलसँग सहकार्य हुन्छ,’ केसीले भन्नुभयो ।

सत्ता समीकरणको कोर्ष नयाँ दिशामा पुगेकोले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने पनि उहाँको भनाई छ । संघ सरकार प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन गर्ने दलहरु मिलाएर लुम्बिनीमा पनि सरकार निर्माण हुने केसीको भनाई छ ।