जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १२:३१

सुनको भाउको नयाँ रेकर्ड


काठमाडौं, ५ चैत । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार नयाँ रेकर्ड बनाउँदै प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा २ हजार ५०० रुपैयाँ बढी हो । यसअघि गत १९ माघमा उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो । शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।