जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार २०:५४

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँणको प्रत्यक्ष संलग्नता भेटियो, यस्तो छ तथ्य-प्रमाण


काठमाडौं, बैशाख २२ । लाखौं रकम लिएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पुर्याउने योजना सहित सूची हेरफेर प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्व गृहसचिव टेकनारायण पाण्डे मुख्य योजनाकारको रुपमा रहेको तथ्य खुलेको छ ।

खाण गृहमन्त्री रहेको बेला गृहसचिव बनेका पाण्डेले नै खाणको इच्छा अनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको बयान प्रहरीलाई दिएपछि र २०७९ चैत १३ गते अभियुक्त सानु भण्डारीले दिएको बयानबाट यस्तो तथ्य भेटिएको हो । यो गिरोहमा हालसम्म पक्राउ परेका आठ जनामध्ये पाण्डे सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्ति हुन । उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सचिव पाण्डेले नै शुरूमा गिरोहका बिचौलिया समूहसँग मन्त्री खाणको भेट गराइदिएको देखिएको हो । खाणकै समयमा यो काम अघि बढेकोसमेत पाइएको प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार तात्कालिन गृहसचिव पाण्डेले भेट गराइसकेपछि गृहमन्त्री खाणले सोझै भेट्ने गरेको तथ्यसमेत उजागर भएको छ ।

पाण्डेको मोबाइलबाट समेत खाण यो प्रकरणमा प्रत्यक्ष जोडिएको ‘क्लू’ भेटिएको प्रहरी स्रोतको दाबी छ । वाट्सएप मार्फत गिरोहका बिचौलियासँग कुराकानी गर्दा पाण्डेले मन्त्री खाणको नाम बारम्बार लिएको पाइएको छ । २०७५ सालदेखि गृह प्रशासनको मिलेमतोमा यो गिरोह सक्रिय भएको पनि अनुसन्धानबाट खुलेको छ ।

नेपाली कांग्रेस नेता खाण पनि यो प्रकरणमा मुछिएको सूचना पाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अनुसन्धान निष्पक्ष हुनुपर्ने भन्दै चैत १३ गते सानु भण्डारीले दिएको बयानको अडियो आफूसँग आइपुगेको तथ्य राख्नुभएको थियो । एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले पनि यो गिरोहलाई सघाएको भन्दै पक्राउ पुर्जी जारी भएको छ । आफ्ना सांसद विरुद्ध पक्राउ पूर्जी जारी भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग भेट गरी निश्पक्ष छानविन नभए एमाले चुप नबस्ने र सवै प्रमाण सार्वजनिक गर्ने बताउनु भएको थियो ।

२०७४ फागुन १४ देखि २०७८ असार २८ गतेसम्म रामबहादुर थापा गृहमन्त्री हुनुहुन्थ्यो । खाण २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म गृह सम्हाल्न आउनु भएको हो । यो गिरोहसँग सवैभन्दा घणिष्ट खाण नै रहेको तथ्यसमेत छानविनको क्रममा पाइएको प्रहरी स्रोतको दावी छ । “बादलको तुलनामा निकै छोटो कार्यकाल गृह मन्त्रालयमा बिताएका खाणले गिरोहसँग बलियो उठबस गरेको देखिन्छ,” अनुसन्धानमा सामेल एक प्रहरी अधिकृतले जनताटाइम्स डटकमसँग भने ।

खाण गृहमन्त्री बनेको एक महीनापछि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा सरुवा हुनुभएको थियो । प्रहरीद्वारा गिरोहको नाइके भनिएका केशव दुलाल र कांग्रेस नेताहरूको सम्बन्ध निकै पुरानो रहेको छ । कांग्रेस नेता सुजाता कोइराला उपप्रधानमन्त्री छँदा दुलाल निजी सहायक थिए । अर्का आरोपित सागर थुलुङ मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० को वडाध्यक्षमा कांग्रेसबाटै २०७४ सालको स्थानीय तह चुनावमा निर्वाचित भएका थिए।

प्रहरीका अनुसार ८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो । गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्याउने धन्दा चलाएको हो । यो कामका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ ।

केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको पाइएको छ । बिचौलियासम्म सरकारी कागजात पुर्याउन पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृह प्रशासनको नेतृत्व गर्ने सचिवको भूमिका देखिएको प्रहरीको भनाइ छ ।