जनता टाइम्स

८ असार २०८०, शुक्रबार १८:१०

सर्भे गर्ने क्रममा विद्यार्थीलाई तमोर नदीले बगायो


सुनसरी, ८ असार । तमोर नदीले एक विद्यार्थीलाई बगाएको छ । ईन्जिनियरिङ अध्ययन संस्थान थापाथलीका सिद्धार्थी खत्रीलाई पुलको सर्भे गर्ने क्रममा तमोर नदीले आज दिउँसो बगाएको पूर्वाञ्चल क्याम्पसका प्राध्यापक रोहित दंगालले जानकारी दिनुभयो । धनकुटाको साँगुरीगढी गाउँपालिका र शाहिदभूमि गाउँपालिकाको सिमानामा रहेको सफाया भन्ने स्थानको पुलको सर्भे गर्ने क्रममा उहाँलाई बगाएको दंगालले जानकारी दिनुभयो ।

पाँचजना विद्यार्थी सर्भेमा खटिएका बेला उहाँलाई बगाएको र खोजीकार्य भइरहेको उहाँले बताउनुभयो । ‘विद्यार्थी बगाएको खबर आएपछि गाउँले र सँगै रहेका विद्यार्थीले खोजीकार्य गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘हामीलाई विद्यार्थी बगाएको खबर आएपछि उद्धारका लागि पहल गरिरहेका छौँ ।’ विद्यार्थी खत्रीको उद्धारका लागि सम्बन्धित पक्षले सक्रियता देखाइदिन उहाँले आग्रह गर्नुभयो ।