झापा, फागुन १० । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । गृहजिल्ला झापाको आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले यस्तो बटमलाइन सुनाउनु भएको हो ।
उहाँले चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गर्दै उनले एमाले भने कुनै अलमलमा नपरी चुनाव जित्ने तयारीमा लागिसकेको बताउनु भयो । अध्यक्ष ओलीले निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूको ठूलो धनराशी खर्च भइसकेकोतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।
‘हामी अब चुनाव होस भन्ने पक्षमै छौं । चुनाव स्थगित हुन पनि सक्छ अहिले पनि । हुन्छ भनेर पनि धेरै प्रयास भइराखेका छन् । हुन्छ भने होस, जेसुकै होस्, तर हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौं,’ ओलीले भन्नुभयो, ‘हामी चुनावको विजयको तयारीमा लाग्छौं । हामीले जित्नै पर्छ । जित्ने तयारीमा लाग्छौं । अब हामीले कुनै अलमल गर्नु हुँदैन ।’

विगत ६ महिनासम्म आफूहरूले कोशिस गर्दा कसैले चासो नदिएको तर अहिले अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको एमाले अध्यक्ष ओलीको भनाइ छ । ‘६ महिना हामीले कोशिस गर्यौं । हामीले कोशिस गरिन्जेल कसैको घैंटोमा घाम लागेन । अब जब समय सिद्धियो त्यतिबेला अब चुनाव हुँदैन भनेर हुनुहुँदैन भनेर । देशको खर्च नहुनु पथ्र्यो अर्बौं खर्च त भइ नै सक्यो । उम्मेदवारको खर्च नहुनु पथ्र्यो भइ नै सक्यो,’ ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले रास्वपाप्रति लक्षित गर्दै कुनै आधार नभएको ‘जोडजामवाला पार्टी’ सानो भाँडोमा चर्को आगो बालेर उमालेको दुधजस्तै उम्लिएको भन्दै सत्मार्गमा हिडन सुझाउनु भयो । ‘अर्को कुरा, सायद साह्रै उम्लिएको । सानो भाँडोमा दुध उमालेर राखेर तलबाट बेसरी चर्को आगो बाल्दिए जस्तै गरेर उम्लिएको कुनै आधार नभएको एउटा जोडजाम वाला पार्टी छ । साह्रै उम्लिएको थियो । जित्दैनौं भन्ने परेछ क्यारे अब अर्काका झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्न खोज्ने, अपमान गर्ने, बेइज्जत गर्ने त्यस प्रकारका कामबाट उसले क्रियाकलापहरू शुरु गर्या छ,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्