जनता टाइम्स

१ बैशाख २०८३, मंगलवार ०७:५७

 केन्द्रीकृत मानसिकता त्यागेर सहकार्यबाट समृद्धि हासिल गरौँ : मुख्यमन्त्री  हिक्मतकुमार कार्की 


विराटनगर, वैशाख १ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रीकृत मानसिकता त्यागेर सहकार्य र सहअस्तित्वमार्फत समृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ।

नयाँ वर्ष२०८३ को शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले संविधान जारी भएको एक दशक पूरा हुँदासमेत केन्द्रीकृत सोच पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै त्यसलाई चुनौतीका रूपमा लिँदै संघीय संरचनालाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

उहाँले लोकप्रियतावादका कारण प्रदेश सरकारले अघि सारेका कतिपय सकारात्मक र प्रभावकारी कदमहरू समेत ओझेलमा परेको टिप्पणी गर्नुभएको छ। यद्यपि छोटो अवधिमै प्रदेश संरचनाले उल्लेखनीय काम गर्न सफल भएको उहाँको भनाइ छ।

मुख्यमन्त्री कार्कीले पूर्वाधार विकाससँगै लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकारले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उद्यमशीलता प्रवर्द्धन तथा पर्यटन विकासका लागि सञ्चालन गरिएका कार्यक्रमहरूले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

सीमित स्रोत र साधनका बीच पनि ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेश सरकार निरन्तर क्रियाशील रहेको उहाँले बताउनुभएको छ। कोशी प्रदेश सरकार देखिने, सुनिने र नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी काम गर्न प्रयत्नशील रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।

शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपालीको जीवनमा शान्ति, उमङ्ग र समृद्धि छाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।