विराटनगर, असार १३ । नेपाली कांग्रेसका नेताका रुपमा परिचित ‘डन’ अभिषेक गिरी हप्ता असुलीकै कारण फेरि समातिएको खुलासा भएको छ । जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरेको भत्ता कारागारभित्रबाटै गायब भएको पाइएपछि सोही अभियोगमा गिरी शनिवार बिहान पक्राउ परेका हुन ।
कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार कैदीबन्दीलाई गर्मी भत्ताबापत २ हजार ५ सयका दरले वितरण गरेको थियो । शुक्रबार ब्लक बीमा वितरण गरेको रकम भने कारागार भित्रैबाट गायब भएको पाइएको छ ।
मोरङ प्रहरीले अनुसन्धानको क्रममा गर्मी भत्ता गायब भएको घटनामा गिरी जोडिएको भेटाएको हो । कैदीबन्दीलाई वितरण गरेको केही घण्टापछि अनुगमन गर्दा उनीहरूको साथमा रकम भेटिएन् ।
सोधीखोजी गर्दा विवादास्पद छविका गिरीको नाम जोडिएको थियो । कैदीबन्दीको भत्ता गिरीको घरमा पुगेको सूचनापछि प्रहरीले शनिबार बिहान उनको घरमा सर्च अप्रेशन चलाएको थियो । सुरुमा हतियार रहेको आशंकामा खानतलासी गरेको बताएको प्रहरीले पक्राउ गर्दा कैदीबन्दीको भत्ता दुरुपयोग गरेको सूचना आएको जवाफ दियो ।
जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार, मोरङ कारागारमा ३ वटा ब्लक छन् । ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो । जेलर घिमिरेका अनुसार ‘ए ब्लक’ का ५३९ जना, ‘बी ब्लक’ का ५३६ जना र महिला ब्लकका ११० जनालाई वितरण गरिएको थियो । तर ‘बी ब्लक’का ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको केही समयमा गायब भएको सूचना प्रमुख जिल्ला अधिकारी युवराज कटेलसम्म पुग्यो ।
सूचना पाएपछि शुक्रबार नै प्रमुख जिल्ला अधिकारी कटेलले कारागारको ‘बी ब्लक’मा अनुगमन गर्न निर्देशन दिनुभयो । अनुगमनका क्रममा कैदीबन्दीलाई वितरण गरेको भत्ता गायब भएको तथ्य भेटियो । जेलर घिमिरेका अनुसार, कारागार प्रशासनका कर्मचारीले सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा कैदीबन्दीको हात हातमै भत्ता दिएको थियो ।
अनुगमनका क्रममा कतिपय कैदीबन्दीको साथमा ५ सयदेखि एक हजार रुपैयाँ मात्र फेला पर्यो । बाँकी रकमका बारेमा सोधपुछ गर्दा कैदीबन्दीले लुगा किन्नका लागि घरपरिवार वा आफन्तलाई पठाइसकेको जवाफ दिए ।
यस बिषयमा अनुसार ‘बी ब्लक’का निमित्त चौकीदार चन्चल बर्मनलाई सोधपुछ गर्दा गिरीको नाम लिएपछि घटनाको बास्तविकता पत्ता लाग्यो । मोरङका प्रमुख जिल्ला अधिकारी कटेलले कारागारबाटै कैदीबन्दीको भत्ता गायब भएपछि गिरीलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । शरीर बन्धक तथा अपहरण मुद्दामा ९ वर्ष कारागारमा हुँदा गिरी लामो समय मोरङ कारागारको चौकीदारको भूमिकामा रहनुभएको थियो ।
कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप गिरीमाथि लागेको थियो । कैद भुक्तान गरी निस्किएपछि पनि कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्ने गरेको आरोप लागेकोमा प्रमाणित भएसँगै पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । स्रोतका अनुसार अनुगमनका क्रममा कैदीबन्दीले बनाएको मुढाको पैसा समेत गिरीले लाने गरेको खुलेको छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी दुई वर्षअघि कारागारमुक्त हुनुभएको थियो । गिरी फागुन २१ प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डर हुनुहुन्थ्यो । गिरीले भने सरकार फेरिएपछि राजनीतिक प्रतिसोधका आधारमा पक्राउ गरेको दाबी गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्