काठमाडौं, १८ असार । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्ने भएको छ । महासंघका सचिव तथा प्रवक्ता तिर्थबहादुर खड्काका अनुसार प्रतियोगिताको उद्घाटन मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।
महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारे जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र त्यसको सबै तयारी पूरा भएको अध्यक्ष पर्शुराम बस्नेतले बताउनुभयो । खेलकुदलाई राजनीतिक मुद्दा बनाउन आवश्यक भएकाले नीति निर्माताको ध्यानाकर्षण गराउन यो प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगितामा मन्त्रीहरु र विभिन्न दलका पूर्व तथा वर्तमान सांसद सहभागी हुने महासंघका कोषाध्यक्ष उज्ज्वल सुवेदीले जानकारी दिनुभयो । प्रतियोगिता ललितपुरको महालक्ष्मीस्थान रिभाइभ लिजर पार्क हुनेछ। दुई दिनसम्म चल्ने प्रतियोगिताका लागि सबै राजनीतिक दलहरुबाट ६० भन्दा बढी सांसदहरुले नाम दर्ता गराइसकेको उहाँले बताउनुभयो ।
प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रियसभा तथा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरुले भाग लिन पाउनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्