जनता टाइम्स

२९ जेष्ठ २०८२, बिहीबार १५:५४

राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन नयाँ जुनियरमा राष्ट्रिय कीर्तिमान


काठमाडौँ, २९ जेठ । पन्ध्रौँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन आज एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् । छात्र ज्याभ्लिन थ्रो, छात्रा ८०० मिटर दौड र छात्र÷छात्राको चार गुणा ४०० मिटर रिलेमा कीर्तिमान कायम भएको हो । पहिलो दिन दुई कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १०० मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले छात्रा ४०० मिटर दौडमा बनाएका थिए । दोस्रो दिनको खेल सकिँदा एथलेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेस्रो तथा अन्तिम दिन शुक्रबार आठ स्वर्णको टुङ्गो लाग्ने छ । पहिलो दिन १० र दोस्रो दिन आठ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान रचे । उनले ५७.४० मिटर थ्रो गर्दै २०५५ साल धीरेन्द्रजङ्ग शाहले बनाएको ५५.५० मिटरको कीर्तिमान भङ्ग गरेका हुन् । कर्णाली प्रदशेका सुशान्त नेपाली दोश्रो तथा सुदूरपश्चिमका लोकेश एडी तेश्रो भए ।

छात्रा ८०० मिटर दौड दुई मिनेट १७ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको दुई मिनेट २८.५ सेकेन्डको कीर्तिमान तोडिन् । बागमती प्रदेशकी भगवती खड्का दोस्रो तथा सुदूरपश्चिमकी सङ्गीता विक तेस्रो भए । छात्र चार गुणा ४०० मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी तीन मिनेट ३० सेकेन्डमा तय गरे । यसअघि चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा तीन मिनेट ३१ सेकेन्ड २०८० सालको कीर्तिमान थियो । गण्डकी दोश्रो तथा लुम्बिनी तेस्रो बने । सोही प्रस्तिपर्धाको छात्रा तर्फ बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान कायम गरे । टोलीले निर्धारित दूरी तय गर्न ४ मिनेट १२.८ सेकेन्ड लगाए ।

चार मिनेट १७.२ सेकेन्डको कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाको नाममा थियो । उनीहरुले २०८१ सालमा कीर्तिमान बनाएका थिए । सुदूरपश्चिम दोस्रो तथा गण्डकी तेस्रो स्थानमा रहे । छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत तथा बागमतीकी सिर्जना श्रेष्ठले कास्य जिते । छात्र ८०० मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पारे । उनले दुई मिनेट ०२.७ सेकेन्डमा निर्धारित दूरी पार गरे । कर्णालीका धीरेन्द्र विक दोस्रो तथा लुम्बिनीका आयुश थारु तेस्रो बने । छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६.६० मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोस्रो तथा बागमतीका दीपेन्द्र गिरी तेस्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन् । अनिशाले ५.१८ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत तथा सुदूरपश्चिमकै रेनुका ऐरले कास्य हात पारे ।