काठमाडौं, कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले विराटनगर किङ्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमै १ विकेट गुमाएर पूरा गरेको हो ।
काठमान्डुको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले अविजित ४४ रन बनाउनुभयो भने विलियम बोसिस्टोले अविजित २३ रनको योगदान दिनुभयो । काठमान्डुले ६.२ ओभरमै ५० रन पूरा गर्दै खेलमा आफ्नो पकड बलियो बनाएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो । विराटनगरको ब्याटिङ सुरुदेखि नै कमजोर देखियो । पावरप्लेमा ३ विकेट गुमाएर २३ रन बनाएको विराटनगरले १० ओभरमा ७ विकेट गुमाउँदा ३७ रन मात्रै जोडेको थियो ।
विराटनगरका रुपेश सिंहले सर्वाधिक २६ रन बनाउनुभयो भने एन्जेलो म्याथ्युजले २२ रन जोड्नुभयो । बसिर अहमदले १० रन बनाउनुभयो । विराटनगरका तीन ब्याटरले खाता खोल्न सकेनन् । आफ्नो अन्तिम खेल खेलिरहेका वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल ३ रनमै आउट हुनुभयो । त्यस्तै, लोकेश बमले ६ रन मात्रै बनाउनुभयो ।
विराटनगरको ब्याटिङ ध्वस्त पार्ने क्रममा काठमान्डुका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिनुभयो । सहन आरच्चिगेले २ विकेट लिँदा करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले समान १ विकेट हात पार्नुभयो ।
यो जितसँगै तीन खेल खेलेको काठमान्डुले दुई जित र एक हार बेहोरेको छ । पाँच खेल खेलेको विराटनगरको भने यो तेस्रो हार हो ।
विराटनगरले यसअघि चितवन राइनोज र कर्णाली याक्ससँग हार बेहोरेको थियो भने सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमान्डु पहिलो खेलमा जनकपुरसँग पराजित भए पनि दोस्रो खेलमा कर्णालीलाई हराउँदै प्रतियोगितामा फर्किएको थियो ।














प्रतिक्रिया दिनुहोस्