जनता टाइम्स

१९ कार्तिक २०८३, बिहिबार १७:२३

जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनीको तेस्रो जित, अंक तालिकाको शीर्ष स्थानमा कायमै


काठमाडौं, कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्रै बनाउन सक्यो।

जनकपुरका कप्तान हरमीत सिंहले सर्वाधिक ३३ रन बनाउनुभयो भने आदित्य महताले अविजित ३० रनको योगदान दिनुभयो। जनकपुरलाई लक्ष्यसम्म पुग्न नदिन लुम्बिनीका डार्सी सर्टले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिनुभयो। त्यस्तै शेर मल्ल र तिलक भण्डारीले समान २–२ विकेट हात पार्नुभयो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउनुभयो।

जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान २–२ विकेट लिनुभयो। तर लुम्बिनीले प्रस्तुत गरेको चुनौतीपूर्ण लक्ष्य रोक्न जनकपुर असफल भयो।

यस जितसँगै लुम्बिनीले ४ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ। प्रतियोगितामा लुम्बिनी अहिलेसम्म अपराजित रहने एकमात्र टोली हो। जनकपुर भने ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ।

एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा साँझ ५ बजे वीरगञ्ज किङ्ग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करण आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।