रामेछाप, ३१ जेठ । शैलुङ अल्ट्रा रेसको शनिबार सम्पन्न तेस्रो संस्करणको उपाधि रामेछापका त्रिभुवन आर्मी क्लबमा आबद्ध तिलक सुनुवारले जित्नु भएको छ ।
सुनापति शैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना र एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको खुल्ला ५५ किलोमिटर दौड नेपाल आर्मी क्लबका धावक तिलक सुनुवारले ५ घण्टा ७ मिनेटमा पुरा गरी उपाधि जित्नु भएको हो । रामेछापको उमाकुण्ड गाउँपालिकाका सुनुवारले जीतसँगै १ लाख रुपैँया पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा ताप्लेजुङ घर भएका नेपाल आर्मीका चन्द्रबहादुर लिम्बु उपविजेता बन्नुभएको छ । उहाँले सो दुरी ५ घण्टा ८ मिनेटमा पार गर्दै ५० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।
त्यस्तै तेस्रो हुने नेपाल आर्मीकै सोलुका अर्जुन कुलुङले २५ हजार रुपैँया नगद प्राप्त गर्नुभएको छ । उहाँले ५ घण्टा ११ मिनेटमा सो दुरी पार गर्नुभएको हो ।
प्रतियोगितामा चौथो हुनेले १० हजार र पाँचौँ स्थानमा रहनेले ५ हजार रुपैँया जितेका छन् । छैटौँदेखि १० औँ स्थानमा आउनेले जनही १ हजार रुपैँया पाएका छन् ।
सुनापति गाउँपालिका-३ साँदीडाँडाबाट सुरु भएको दौड सुनापतिडाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिद पार्क, डाँडाकटेरी, घलेडाँडा हुँदै सैलुङमा पुगेर सम्पन्न भएको थियो ।
यस्तै ५ किलोमिटर दुरीको विजेता नेपाल आर्मीका अर्जुन बुढाले १२ हजार नगद पुरस्कार पाउनुभएको छ । बुढाले सो दौड १८ मिनेट ४० सेकेन्डमा पुरा गर्नुभएको थियो ।
उपविजेता आर्मीकै सूर्यराज राईले १९ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी ८ हजार रुपैँया नगद प्राप्त गर्नुभएको छ । तेस्रो हुने नेपाल आर्मीका बुद्धराम तामाङले २० मिनेट ८ सेकेन्डमा दुरी पुरा गरी ५ हजार नगद प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्