काठमाडौँ, १ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आज स्वागत गरेको छ । राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै पदक दिलाउन सफल भएकामा बधाई प्रदान गर्नुभयो । त्यसअघि आजै नेपाली टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
भुटानको थिम्पुमा गत जेठ ३० र ३१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजतपदक जितेको थियो । नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीको सहभागिता थियो । महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा शीला ठकुरीले रजतपदक जितिन् । पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जितेका हुन् । पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर माथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन् । स्वागत कार्यक्रममा सदस्यसचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थुप्रै अन्तरराष्ट्रिय पदक जितिसकेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुसी बनाएकामा खेलाडीलाई बधाई प्रदान गर्नुभयो ।
शारीरिक सुगठन महासङ्घका प्रथम उपाध्यक्ष कायश्थले हरेक अन्तरराष्ट्रिय प्रतियोगतामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गर्नुभयो । टोलीसँगै अफिसियल रूपमा भुटान जानुभएका शारीरिक सुगठनका सचिव दिनेशकुमार राजभण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजनाबारे पनि भुटानमा छलफल भएको जानकारी दिनुभयो । व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्