काठमाडौं, साउन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हरेक हरेक दिनजसो हुने कार्यक्रममा भ्रष्टाचारका फाइल खोतल्ने र कसैलाई नछाड्ने भनाई दोहोर्याइ रहनु भएको छ तर घटनाक्रमले उहाँहरु आफै भ्रष्टाचारी र तस्कर समुहको संरक्षकका रुपमा देखिनुभएको तथ्य उजागर भएको छ । बिमानस्थलमा भएको सुन तस्करी प्रकरणले प्रधानमन्त्री र गृहमन्त्रीको ‘भ्रष्टाचारबिरोधी अभियान’ तस्करीका मुल नाइके जोगाउने हतियार बनेको तथ्य उजागर गरेको छ ।
पछिल्लो पटक बिमानस्थलबाट भएको ९ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुललाई उन्मुक्ति दिएको घटनाले तस्कर समुहलाई सरकारले नै संरक्षण गरेको प्रष्ट भएको हो । प्रधानमन्त्री र गृहमन्त्रीकै कारण महरा बाबुछोरामाथि अनुसन्धान अघि बढेको छैन ।
आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि अनुसनधानसमेत नगरी मुद्दा दर्ता गरिएको छैन । महरा बाबुछोरालाई योजनाबद्ध रूपमा उन्मुक्ति दिन खोजिएको छ ।
इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छाँयामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकै पटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समात्यो । अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटियो । प्रहरी अनुसन्धान नै भन्छ, ‘नौ किलो ११.५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन छ ।’ तर भेपमा सुन भएको भेटेपछि त्यसलाई लिलाम नगरी भन्सारका अधिकारीसहितको मिलेमतोमा बेचिएको थियो ।
गत बर्षको पुस १० मा बिहान ७.१० देखि अपराह्न १२ बजेसम्म विमानस्थलको आगमन कक्षको यात्रु शाखा प्रमुखको हैसियतमा ड्युटीमा खटिएका विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले प्रहरीलाई दिएको बयानअनुसार सुरुमा ठूलो परिमाणको भेप भनेर रोकिएको थियो ।
यो पनि पढनोस
सुन तस्करीको अनुसन्धानमा गृहमन्त्री नै बाधक बनेको खुलासा, यस्तो छ तथ्य-प्रमाण
‘चिनियाँ नागरिक ली हानसङले लिई आएको लगेजमा ठूलो परिमाणमा भेप रहेको भनी मलाई ड्युटीमा खटिएका नायब सुब्बा सुवर्णा प्रभा केसीबाट जानकारी भयो । यात्रु शाखाबाट (यो सामान) जाँचपास गर्न नमिल्ने हुँदा जफत गर्नुपर्ने व्यवस्था रहेकाले जफतको निर्णय गरी रजिस्ट्ररमा व्यहोरा चढाई एक प्रति निस्सा सम्बन्धित यात्रुलाई दिइयो,’ श्रेष्ठले बयानमा भन्नुभएको छ, ‘यात्रुको सुटकेस खोली परिमाण यकिन गर्नेसम्मको काम गरियो, तर भेप फुटाएर परीक्षण गर्ने काम भएन ।’
भेप जफत गरी भन्सार अधिकृतको कार्यकक्ष अगाडि राखिएको २÷३ दिनपछि यात्रु शाखामा पुगेका भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले तोकिएको राजस्व लिई जाँचपास गरी दिन अनुरोध गरेका थिए ।
‘मैले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ, त्यसको भोलिपल्ट श्यामसुन्दर शाह भनी चिनाउने व्यक्तिले भेटेर उक्त भेप जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगका लागि ल्याएको भन्दै छुटाउन अनुरोध गरे । मैले निजलाई समेत जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ,’ भन्सार अधिकृत श्रेष्ठको भनाइ छ ।
भन्सार एजेन्ट फर्किएको केही समयपछि पूर्वसभामुख महराका छोरा राहुलले भन्सार अधिकृत श्रेष्ठलाई फोन गरेका थिए । ‘आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११–––८८ बाट फोन गरी जफत भएको उक्त भेपको लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ ? भनी सोधपुछ गरे,’ श्रेष्ठले भनेका छन्, ‘मैले जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार बोलकबोलको सूचना प्रकाशित हुने बताएँ । लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी दिएको थिएँ ।’ यसरी महरालाई पन्छाएपछि आफूले थप कानुनी कारबाहीका लागि भेप मुद्दा शाखामा पठाएको र त्यसपछि के कसो भयो भन्ने जानकारी नभएको श्रेष्ठको जवाफ छ ।
श्रेष्ठले यस्तो बयान दिए पनि तस्कर र बिचौलियाहरूको मिलेमतोमा भन्सारका कर्मचारीहरूको मिलिभगतमा सुन बेचिएको थियो । यसको सुराक खुलेपछि भन्सार कार्यालयले गत वैशाख २६ मा प्रहरीको सीआईबीलाई पत्र लेखी अनुसन्धान गर्न आग्रह गरेको थियो । त्यसका आधारमा ब्युरोले एक चरणको अनुसन्धान सकेर मुद्दा दायर गरे पनि पूर्वसभामुख महरा र उहाँका छोरा राहुलमाथि थप अनुसन्धान गरेको छैन । जबकि सुन तस्करी तथा बिक्रीको जालो राहुल मात्र होइन, स्वयम् कृष्णबहादुर महरा जोडिएको प्रहरी प्रतिवेदनमा स्पष्ट उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘मिसिलमै संलग्न कल डिटेल रेकर्ड (सीडीआर) प्रतिवेदनअनुसार सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई (९८४१३–––८५) , दाओजिन वाङ (९८०१–––९८), लोकेन्द्र पौडेल (९८१३––––४८), खुवाप्रसाद न्यौपाने (९८४१––––६४), राहुल महरा (९८५११–––८८) समेतको सम्पर्क, कृष्णबहादुर महरा (९८५११–––८८) र मुक्तिप्रसाद श्रेष्ठ (९८५७०–––८२) आपसी सम्पर्कमा रहेको तथा यो समूहले सुन बेचबिखन गर्ने समूहसँग पनि सम्पर्कमा रहेको र निजीहरू आ–आफ्नो आपराधिक जिम्मेवारीबमोजिम खटिएको देखिन्छ ।’ तर २७ असारमा मुद्दा दायर गर्दा महरा बाबुछोरालाई अस्वाभाविक रूपमा छुटाइएको छ । यो घटनाले प्रधानमन्त्री र गृहमन्त्रीकै आदेशमा महरा बाबुछोरालाई उन्मुक्ति दिइएको प्रष्ट हुन्छ ।
श्रेष्ठको बयान

भेप लिलामीमा किन्न खोजेको आरोपमा पाँच आरोपीलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर मुद्दा चलाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले आरोपी ९ मध्ये वर्ष ३९ का भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, कागेश्वरी मनहराका ३२ वर्षीय दिनेश बस्नेत र पोखरा गैह्रापाटनका २२ वर्षीय निर्मलकुमार विकलाई थुनामा राख्ने आदेश गरेको हो । उनीहरू सबै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुन लाग्दा जफत भएको सुन गैरकानुनी रूपमा बेचबिखन गर्ने गिरोहका सदस्य हुन ।
सुन तस्करीमा संलग्न मुख्य समुह

भेप प्रकरणपछि बाहिरिएको क्विन्टल सुन प्रकरणमा पनि माओवादी नेताहरूमाथि प्रश्न उठेको छ । पछिल्लो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश पुन, माओवादी उपमहासचिव वर्षमान पुन र उनकी पत्नीसमेत रहनुभएकी पूर्वसभामुख ओनसरी घर्तीसँग निकट सम्बनध देखिएको छ ।
यो पनि पढनोस
सुन तस्करीमा धेरै ठुला माछा छन, हामी त भुरेभारे मात्रै हौं : कृष्णबहादुर महरा (भिडियोसहित)













प्रतिक्रिया दिनुहोस्