काठमाडौं, साउन ११ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै सुन तस्करी प्रकरणमा आफ्ना पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोरा राहुलमाथिको छानविनमा अवरोध गरेको खुलासा भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले ९ किलो सुन तस्करी प्रकरणमा महरा बाबुछोराको संलग्नता देखिएपछि बयानमा बोलाउने तयारी गर्दा गृहमन्त्री श्रेष्ठले नै रोक्नुभएको पाइएको हो । बिमानस्थल भन्सार कार्यालयले सिआइवीलाई छानविनका लागि पठाएपछि अनुसन्धान गर्दा तस्करीमा महराका छोरा राहुलले ९३ पटक सुन तस्कर र बिमानस्थल भन्सार कार्यालयका कर्मचारीसँग सम्पर्क भएको तथ्य भेटिएको थियो ।
यस्तै पूर्वसभामुख महराले पनि दर्जनौं पटक सम्पर्क गरेको तथ्य फेला परेको हो । तर गृहमन्त्री श्रेष्ठले प्रहरीलाई महराका बाबुछोरालाई बयान लिन समेत रोकेको प्रहरी स्रोतले जनताटाम्इस डटकमलाई बतायो । प्रहरीले अनुसन्धान अघि बढाइरहेको बेला महरा बाबुछोराको नाम आएपछि गृहमन्त्री श्रेष्ठले रोकेको ती अधिकृतको भनाई छ ।
‘अनुसन्धानको क्रममा उहाँहरु (महरा बाबुछोरा) को संलग्नता देखिएपछि पक्राउ गरी बयान लिनुपर्ने कुरा आयो तर गृहमन्त्रीज्यूले बयानमै बोलाउनसमेत दिनुभएन, त्यसैले प्रतिवेदनमा दुवै जनाको नाम किटान भए पनि बयान लिइएन, मुद्धा पनि चलाइएन,’ अनुसन्धानमा संलग्न अर्का अधिकारीले जनताटाइम्स डटकमसँग भने । जवकी सिआइवीले छानविनका लागि सिफारिश गर्ने बिमानस्थलका तात्कालिन भन्सार प्रमुख अरुण पोखरेलसँग बयान लिएको थियो । गृहमन्त्री श्रेष्ठले महरा बाबुछोरालाई भने छानविन नै गर्न नदिएको स्रोतको भनाई छ ।

गृहमन्त्री श्रेष्ठले प्रहरीलाई बयानमा समेत नबोलाउन भनेपछि सिआइवीकै अनुसन्धान प्रतिवेदनको आधारमा सो सुन तस्करी प्रकरणमा बिमानस्थलका नासु रेवन्त खडकासहित दिनेश बस्नेत, बेदप्रकाश अग्रवाल, साहेव राव पाण्डुरङ मगरले, अमृत कार्की, दिपेश बस्नेत गोपाल सुवेदी र रामकेशव थापालाई मात्रै प्रतिवादी बनाएर अदालतमा मुद्धा दायर गरिएको छ ।
बिमानस्थल भन्सार कार्यालयले जफत गरी मुद्धा शाखामा दाखिला भएको २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान इसिगरेटमा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणमा उनीहरुबिरुद्ध मुद्धा दायर भएको हो ।













प्रतिक्रिया दिनुहोस्