काठमाडौं, भदौ १९ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै भोलि शुक्रवारका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको हो ।
एनओसीले बिज्ञप्ती नै जारी गरी अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाएको छ । सर्वाेच्च अदालतले मंगलवार एनओसीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई यही भदौ २२ गते छलफलका लागि बोलाएको छ ।
एनओसी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले अदालतबाट अन्तरिम आदेश जारी भएका कारण तत्काललाई चुनाव नगर्ने बताउनु भयो । ‘न्यायालयलाई सम्मान गर्नैपर्छ। अदालतले आइतबार बोलाएको छ। त्यहीँ गएर छलफल गर्छौ। त्यहीँबाट निकास निस्किएपछि यथासम्भव चाँढो निर्वाचन हुनेछ,’ श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो । रुक्मसमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीका कार्य समिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रिटमाथि न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै आगामी दुवै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन आदेश दिएको हो।
सर्वोच्च अदालतको फैसलाअनुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका अध्यक्ष श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइ सर्वोच्चले २०६७ सालमा व्यूँताएको राणा नेतृत्वको एनओसी सदस्य चित्रकारले रिट दायर गर्नुभएको थियो । २०६३ मा राणा नेतृत्वको कार्यसमितिले गराएको निर्वाचनबाट ध्रुवबहादुर प्रधानलाई अध्यक्ष तथा जीवनरामलाई महासचिव चुन्दै नयाँ कार्यसमिति चयन गरेको थियो। तर राणा नेतृत्वको पुरानो कार्यसमितिका सदस्य चित्रकार र निर्वाचनमा भाग लिएर पराजित भएका प्रशन्नमान श्रेष्ठले एक वर्षपछि प्रधान नेतृत्वको एनओसी अवैधानिक भन्दै अदालतमा मुद्धा हाल्नुभयो ।
त्यही मुद्धामा निर्णय दिने क्रममा २०६७ सालमा सर्वोच्चले राणा नेतृत्वको कमिटी नै आधिकारिक भएको फैसला गरेको थियो। त्यसयता नेपाली ओलम्पिकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त दुई एनओसीको अस्तित्व कायम छ। राणा नेतृत्वको पुरानो कार्यसमितिमा महासचिव रहेका प्रधानको अध्यक्षतामा दुई कार्यकाल (८ वर्ष) तथा जीवनराम श्रेष्ठको अध्यक्षतामा एक कार्यकाल (४ वर्ष) सकिसकेको छ। नयाँ कार्यकालका लागि शुक्रबार चुनावको सम्पूर्ण तयारी भए पनि अदालतको आदेशपछि स्थगित भएको अध्यक्ष श्रेष्ठले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्