धनगढी, २३ साउन । कञ्चनपुरमा घुमुवा प्रहरी कुटिनुभएको छ । स्रोतका अनुसार सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुुर बोहराले गठन गरेको आरआइटी समूहका एक सिपाही कुटिनुभएको हो । सोमबार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदलाई स्थानीय युवाले कुटेका हुन् ।
उहाँलाई युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेक जाँच गर्दै दुःख दिएपछि स्थानीयले कुटपिट गरेका हुन् । साउँदले मदिरा सेवन गरेर आफू डीआईजी भरत बोहराको मान्छे भन्दै सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेर हैरान गर्न थालेपछि हातपात भएको बताइएको छ ।
साउँद डीआईजी बोहराका नातेदारसमेत पर्ने बुझिएको छ । प्रहरीको सुदूरपश्चिम प्रमुख भएर आएपछि नातावाद र क्षेत्रियता लाधेको आरोप खेपिरहेका डीआईजी बोहराले साउँदलाई बैतडीबाट ल्याएर आरआइटीमा राख्नुभएको थियो । बोहराले आवश्यकता र औचित्य नरहेको भन्दै आरआईटी भंग गर्नुभएको थियो ।
तर उहाँले लगत्तै आफ्ना नातेदार पर्ने प्रहरी वरिष्ठ नायब निरीक्षक डेनी स्वाँरको नेतृत्वमा आरआईटी गठन गर्नुभएको थियो । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) मा आवद्ध प्रहरी जवान रंञ्जित साउँदले कुटिएको घटना लुकाइएको छ । प्रदेश प्रहरीका प्रवक्ता प्रज्वल मर्हजनले घटनाको विषयमा जानकारी नभएको प्रतिकृया दिनुभयो । कञ्चनपुर प्रहरीलेसमेत घटनाको विषयमा कुनै जानकारी नभएको बताएको छ ।













प्रतिक्रिया दिनुहोस्