काठमाडौं, असार १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशन आज धनगढीमा हुँदैछ। रास्वपाका अनुसार धनगढीस्थित रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान १० बजेदेखि अधिवेशन सुरु हुने भएको हो।
अधिवेशनमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू धनगढी पुगिसकेका छन्। उद्घाटन सत्र सम्पन्न भएपछि नयाँ प्रदेश नेतृत्व चयनको प्रक्रिया अघि बढाइने बताइएको छ।
प्रदेश सभापतिको जिम्मेवारीका लागि निवर्तमान प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनाल, सञ्चार उद्यमी जनकराज पन्त तथा कञ्चनपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनकराज धामीले आकांक्षा व्यक्त गर्नुभएको छ।
पार्टीभित्रको चर्चाअनुसार रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति समेत रहनुभएका विष्टलाई बालेन्द्र शाह (बालेन) समूहको समर्थन रहेको बताइन्छ। त्यसैगरी पन्त र धामीलाई पार्टी सभापति रवि लामिछाने निकट नेताहरूको समर्थन रहेको चर्चा छ।
यता, प्रतिनिधिसभा सदस्य खनालको नाम भने सर्वसम्मत नेतृत्वका रूपमा अघि सारिएको बताइएको छ। रास्वपाका एक नेताका अनुसार सर्वसम्मतिको वातावरण बनेमा खनालको नेतृत्वमा सहमति हुन सक्ने सम्भावना रहेको छ। निर्वाचन हुने अवस्था आएमा विष्ट र पन्त तथा धामीमध्ये एक जनाबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
रास्वपाले प्रदेश अधिवेशनको उद्घाटन पार्टीका महामन्त्री भूपदेव शाहले गर्ने कार्यक्रम तय भएको जनाएको छ। यसअघि पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने चर्चा भए पनि अन्ततः महामन्त्री शाहले उद्घाटन गर्ने कार्यक्रम निश्चित गरिएको हो। उहाँ अधिवेशनमा सहभागी हुन धनगढी पुगिसक्नुभएको रास्वपाले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्