जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार १४:३२

रास्वपाको भाँडभैलो : गर्‍यो कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम रद्द


काठमाडौं, जेठ ३१ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण परिणामहरू बदर (रद्द) गर्ने निर्णय गरेको छ। निर्वाचन प्रक्रियामा विधान तथा कार्यविधि विपरीतका गतिविधि भएको निष्कर्ष निकाल्दै आयोगले उक्त निर्णय गरेको जनाएको छ।

आज जारी गरिएको विज्ञप्तिअनुसार कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचनको वैधतामाथि प्रश्न उठाउँदै उम्मेदवार तथा पार्टी सदस्यहरूबाट सप्रमाण उजुरी दर्ता भएका थिए। ती उजुरीमाथि अध्ययन गर्दा लोकतान्त्रिक निर्वाचनका न्यूनतम मापदण्डसमेत पालना नभएको प्रारम्भिक रूपमा पुष्टि भएको आयोगले उल्लेख गरेको छ।

केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्लाका सांसदहरूको असहमति र सुझावका बाबजुद विधान तथा कार्यविधि विपरीत निर्वाचन प्रक्रिया अघि बढाइएको जनाएको छ। आयोगका अनुसार प्राप्त उजुरी र प्रमाणहरूको अध्ययनपछि निर्वाचन प्रक्रियाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको हो।

आयोगले निर्वाचन रद्द गर्नुका पछाडि चार प्रमुख आधारहरू सार्वजनिक गरेको छ।

आयोगका अनुसार प्राप्त तथ्याङ्क र उजुरीका आधारमा निर्वाचन सञ्चालन गर्दा न्यूनतम आधारभूत प्रक्रिया नै पालना नगरिएको देखिएको छ। त्यस्तै मतदान र मतगणनाका क्रममा स्थापित नियम तथा निर्वाचन कार्यविधिको उल्लङ्घन भएको पाइएको जनाएको छ।

यस्तै, विभिन्न पदका अधिकांश प्रमुख उम्मेदवारहरूले निर्वाचन प्रक्रियाप्रति लिखित असहमति जनाउँदै प्रक्रिया बहिष्कार गरेको तथ्यसमेत आयोगले उल्लेख गरेको छ। आयोगका अनुसार यस्तो अवस्थाले निर्वाचनको सर्वस्वीकार्यतामा गम्भीर असर पारेको छ।

त्यसै गरी, स्थापित नामावलीअनुसार सहभागी हुनुपर्ने कतिपय योग्य सदस्य तथा प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नगरिएको पाइएको पनि आयोगको निष्कर्ष छ। यसले समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई प्रभावित गरेको आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगले पार्टीको विधान, निर्वाचन कार्यविधि तथा आन्तरिक लोकतन्त्रको संरक्षणका लागि कठोर निर्णय लिनुपरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कैलाली जिल्ला अधिवेशनका क्रममा भएका गैरप्रक्रियागत तथा विधान विपरीतका कार्यहरूले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको ठहरिन्छ। त्यसैले केन्द्रीय निर्वाचन आयोगको आज बसेको बैठकले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित भएका सम्पूर्ण परिणामहरूलाई पूर्ण रूपमा बदर/रद्द गर्ने निर्णय गरेको छ।’

आयोगले निर्वाचन प्रक्रिया पुनः कसरी अघि बढाउने भन्ने विषयमा भने तत्काल कुनै जानकारी सार्वजनिक गरेको छैन।

कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम नै बदर गर्ने निर्णयपछि अब नयाँ निर्वाचन प्रक्रिया कसरी अघि बढाइन्छ भन्ने विषयमा पार्टीभित्र र कार्यकर्तामाझ चासो बढेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले भने पार्टीको विधि, विधान र निष्पक्ष निर्वाचन प्रणालीको रक्षा गर्न निर्णय गरिएको स्पष्ट पारेको छ।