धनगढी, असार २ । कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जनाविरूद्ध मुद्दा चलेको छ। प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्ति विरूद्धको कसुरमा मुद्दा चलाएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो। बाँकी १० जनालाई भने रिहा गरिएको छ। पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस घटनाका विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि, वनका पदाधिकारीलगायत सँग मंगलबार पनि छलफल गरिने बताउनु भएको छ ।
सरोकारवालाहरूका बीच जिल्ला प्रशासन कार्यालयमा आइतबार दिनभर छलफल भएको थियो भने सोही दिन प्रहरीले १२ जना वनका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। सो घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समितिसमेत गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो। मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।
समितिको सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा हुनुहुन्छ। समितिले आफ्नो काम थालेको जनाएको छ।
गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए।
धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा टेम्पो रोकेर त्यसमै पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायत बिक्री गर्दै आउनु भएको थियो । सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको टेम्पो भिरबाट खसालिदिएका थिए। उक्त घटनाको सामाजिक सञ्जालहरूमा आलोचनासमेत भएको थियो। त्यसपछि प्रहरीले टेम्पो धनी महिलासँग सोधपुछ पनि गरेको थियो।
वनका कर्मचारीले टेम्पो भिरबाट धकेल्नुअघि त्यसमा रहेका सामान भने निकालेका थिए। यस घटनामा डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य प्रकाशित गर्दै बचाउ गरेका थिए। तर अपराध गरेर उल्टै धम्की दिने काम स्वीकार्य छैन भन्दै नागरिकले दवाव दएपछि मुद्धा चलाइएको हो ।













प्रतिक्रिया दिनुहोस्