काठमाडौं, माघ ११ । कृषि विकास बैंकले ५७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । आइतवार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
उद्घाटन पश्चात प्रमुख अतिथि गभर्नर अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त भएको विचार व्यक्त गर्नुभयो । कषि विकास बैंकले दोस्रो त्रैमासमा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हित चाहने ग्राहकलगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्त गर्दै उहाँले बैंकको प्रशंसा गर्नुभयो ।
प्रमुख अतिथि गभर्नर अधिकारीले बैंकको कल सेन्टरको उद्घाटन गर्नुभयो भने यसै अवसरमा बैंकको ओभरड्राफ्ट कार्ड समेत जारी गर्दै अत्यावश्यक यी सेवाहरु संचालनमा ल्याएकोमा बैंकलाई धन्यवाद व्यक्त गर्नुभयो । ओभरड्राफ्ट कार्डले डेविट र क्रेडिट दुबैको काम गर्दछ । खातामा पैसा हुँदा सम्म डेविट कार्डको र नहुँदा क्रेडिट कार्डको काम गर्ने हुँदा अवका दिनहरुमा २ वटा छुट्टा छुट्टै कार्ड बोक्नु पर्ने झण्झटबाट मुक्त हुने बैंकका कर्मचारीहरु बताउँछन ।
त्यसैगरी कलसेन्टरबाट ग्राहकहरुको गुनासो सुनुवाइ अझ प्रभावकारी ढंगले हुने मात्र नभई असुली ताकेता, मुद्दती निक्षेप नवीकरणको जानकारी लगायतका कार्यहरु संचालन गरिने बैंकले जनाएको छ । त्यसैगरी बैंकले प्रकाशन गरेको ५७ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४५ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि गभर्नर अधिकारीले विमोचन गर्नुभयो ।
बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कृषि विकास बैंकका पूर्वमहाप्रबन्धक रामचन्द्र महर्जन, कृषि विकास बैंक पूर्वकर्मचारी समाजका अध्यक्ष मुकेश श्रेष्ठ लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्णमा स्वागत गर्दै बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङले हाल बैंकको गतिविधिको समेत जानकारी दिनुभयो ।
समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्