इटहरी, फागुन १६ । इटहरीका मेयरले अवरोध गरेपनि जनताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भब्य स्वागत गरेका छन । इटहरीस्थित कचना माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन रोकिएको भन्दै कार्यक्रममा मेयरले नै अवरोध गरेपनि जनता सडकमै उत्रिएर ओलीको भब्य स्वागत गरेका हुन ।
मेयरले सूचना नै जारी गरेर तयारी नपुगेको कारण रोकिएको भनिएको बिद्यालयको भवन उदघाटनका लागि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली आज बिहान इटहरी आइपुग्नु भएको हो । सो क्रममा उहाँलाई स्थानीय जनताले स्वागत गरेका हुन ।
नेपाल सरकारको २२ करोड लागतमा सो विद्यालय भवन निर्माण भएको हो । भवन उदघाटनमा इटहरीका मेयरले अवरोध गरे पनि भवन उदाटनको सम्पूर्ण तयारी भएपछि उहाँ आउनु भएको हो । इटहरी जानुअघि बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले एमाले सरकार फेर्ने र बदल्ने गठबन्धनको खेलमा नलागेको प्रष्ट पार्नुभयो । एमाले अहिले मिसन ८४ मा लागेको भन्ैदै उहाँले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्न मिसन ८४ नाम दिएको बताउनु भयो ।
‘राष्ट्रियता कमजोर भयो । सुशासन र विकास कमजोर भयो, जस्को कारण जनतामा निराशा पलायो । काम राम्रो गरेर निराशालाई आशामा बदल्नका लागि पनि हामीले मिसन ८४ भनेका हौं,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले प्राकृतिक स्रोत साधन भएको देशलाई विकासको बाटोमा अगाडि बढाउनु पर्नेमा गठबन्धनको दम्भले अहिलेको सरकारले नसुनेको निश्कर्ष पनि सुनाउनु भयो ।
सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिनुभयो । कांग्रेस सत्तामा पुग्ने र सत्ता टिकाउने खेलमा मात्रै लागेको ओलीको भनाई छ । ‘कांग्रेस तपाईंहरूले खोजे जस्तो छैन । पहिलाको जस्तो काँग्रेस तपाइहरूले खोजेर भेटिँदैन अहिले । कांग्रेसमा त्यो प्रकारको सोच विकास भएको पनि छैन,’ ओलीले भन्नुभयो । उहाँले गठबन्धनलाई खरानीको डल्लोको संज्ञा पनि दिनुभयो । ’यो खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।’
अध्यक्ष ओलीले प्रतिगमनका लागि कांग्रेसलाई साथ दिन नसकिने बटमलाइन पनि सुनाउनु भयो । कांग्रेस प्रतिगामी सोचमा अगाडि बढिरहेको ओलीको भनाई थियो । ‘जनवादी प्रगतिशील भएर अगाडि बढ्नुपर्ने ठाउँमा कांग्रेस पछाडि सरिरहेका छ । हामीले प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि काँग्रेसले राष्ट्रपति देऊ अरू सबै लैजाऊ भनेर भन्यो । राष्ट्रपति पाएपछि ऊ उत्ताउलिएको छ । किन उत्ताउलिएको हो ? त्यो थाहा छैन । आफ्नो हैसियत पनि काँग्रेस बुझ्दैन,’ ओलीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्