जनता टाइम्स

२९ बैशाख २०८१, शनिबार १३:१३

प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी


सुर्खेत, २९ बैशाख । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फको उपाधि नेपाली सेनाले लिन सफल भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारीमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किलोमिटर दुरी एक घण्टा ११ मिनेट २५ सेकेन्डमा दुरी पार गरी नेपाली सेनाका नरेन्द्र रावत प्रथम हुनुभएको छ ।

प्रथम कर्णाली हाफ म्याराथनका उपाधि विजेता रावललाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रमाणपत्रसहित पुरस्कार वितरण गर्नुभएको छ । यसैगरी नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ सेकेन्डमा निश्चित दुरी पार गरी दोस्रो पुरस्कार जित्नुभयो । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको तेस्रो स्थानमा श्रीकेश राईले एक घण्टा १३ मिनेटमा दुरी पार गर्नुभएको छ ।

प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किमी दौडको महिलातर्फ पुष्पा भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पार गरी प्रथम उपाधि जित्नुभयो । सृथना पाण्डे दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो हुनुभयो । यसैगरी शनिबार बिहान कर्णाली दौडिन्छ भन्ने नाराका साथ भएको पाँच किलोमिटर म्याराथन प्रतियोगिताको पुरुषतर्फ अजय विक प्रथम, रमेश बुढा दोस्रो र तेस्रो बन्नुभयो ।

यसैगरी पाँच किलोमिटर महिलातर्फ बिमला कार्कीले प्रथम भएर उपाधि जित्नुभयो, भने पूर्णिमा बुढाक्षेत्रीले दोस्रो र लक्ष्मी शाहीले तेस्रो स्थान लिनुभएको छ । हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहमा धर्म महर्जन विजयी हुनुभयो । उहाँले एक घण्टा २८ मिनेटमा दुरी पार गरी उपाधि लिनुभएको हो । यसैगरी रेवन्त दहाल दोस्रो उपाधि लिन सफल हुनुभयो । ५ किलोमिटर स्कुलस्तरीय छात्र एवम् छात्रा दौडातर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ जना धावकहरु सहभागी भएको आयोजकले जानकारी दिएको छ ।

म्याराथनको विजेताले महिला तथा पुरुषलाई समान ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमश १५ हजार, १० हजार र ५ हजार पुरस्कार दिइने छ भने विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार वितरण गरिएको छ ।