रौतहट २७ साउन । रौतहटको चर्चीत बजार कटहरिया स्थित नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवनमा सञ्चालनमा आएको छ ।
२०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ बर्ष पछि आजदेखी आफ्नै भवनमा सञ्चालनमा आएको हो । ईलाका प्रहरी कार्यालय कटहरीयाको अगाडि बैंकको आफ्नै जग्गामा निर्माण गरिएको सुबिधा सम्पन्न भवनमा बैंगकिङ कारोवार सुरु भएको प्रबन्धक आनन्द कुमार यादवले बताउनुभयो ।
बैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड, ६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो । टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक यादवले बताउनुभयो । २०८० फागुन १४ भित्र भवन निर्माण अवधी रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोवार सञ्चालन गरिएको प्रबंधक यादवले जानकारी दिनुभयो ।
२०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो । तत्कालिन विद्रोही माओबादी र सरकार बीच सशस्त्र द्वन्द हुँदा २०६२ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो । केहि समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछी नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो । देशका अबस्था सामान्य हुँदा १० बर्ष पछि २०७२ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ ।
हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन् । कटहरिया शाखामा नगद, कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा, आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिनुभयो । भवन निर्माणसंगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ । नवनिर्मित भवनको औपचारिक उद्घाटन भने अहिलेसम्म हुन नसकेको देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्