काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायका समस्यालाई सदाका लागि समाधान गर्न ऐनलाई सहज रूपमा कार्यान्वयन गर्ने प्रष्ट पार्नुभएको छ ।
अमेरिका भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भएको भेटवार्ता क्रममा यस्तो बताउनु भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान अमेरिका स्थित संयुक्त राष्ट्रसंघीय नियोग नेपालको कार्यालयमा महासचिव गुटेरेससँग भेटबार्ता गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले महासचिव गुटेरेसको हालैको नेपाल भ्रमण र संसदमा सम्बोधनको स्मरण गर्नुभयो । उहाँले नेपालले पीडित केन्द्रित दृष्टिकोण, सर्वोच्च अदालतको निर्देशन र अन्तर्राष्ट्रिय मान्यताका आधारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन लागू गरेको सहर्ष जानकारी गराएको नियोगले जनाएको छ ।
ओलीले महासचिव गुटेरसलाई न्यानो स्वागत र प्रशंसाका लागि धन्यवाद दिएको नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटमा महासचिवले हरितगृह ग्यास उत्सर्जनमा व्यापक कमी ल्याउने र नेपालजस्ता पहाडी मुलुकको जोखिमलाई सम्बोधन गर्नेलगायत जलवायु परिवर्तनको एजेन्डा संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले न्यूनीकरण र अनुकूलन दुवैतर्फ केन्द्रित हुन अल्पविकसित मुलुकलगायत विकासोन्मुख मुलुकका लागि जलवायु वित्त पर्याप्त हुनुपर्नेमा पनि जोड दिनुभयो ।
महासचिव गुटेरेसले विकासोन्मुख देशहरूलाई आर्थिक सहयोग बढाउन र विकास कोषमा सरल पहुँचका लागि अन्तर्राष्ट्रिय वित्तीय संरचनाको गहिरो सुधारमा समेत जोड दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्