जनता टाइम्स

११ मंसिर २०८१, मंगलवार २०:३९

जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह


फ्रेङ्कफर्ट, मङ्सिर ११ । जर्मनीका अर्थमन्त्री रोबर्ट हाबेकले आज अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले युरोपको निर्यातमा ठूलो शुल्क लगाउन सक्ने सम्भावनामा युरोपले तयारी गर्नुपर्ने र त्यस्ता कदमहरूको सामना गर्न एकजुट हुनुपर्ने बताउनुभएको छ । आफ्नो कार्यकालको पहिलो दिन नै मेक्सिको, क्यानाडा र चीनबाट आउने सामानमा व्यापक शुल्क लगाउने ट्रम्पको योजना रहेको भन्दै उहाँको यस्तो टिप्पणी आएको हो ।

‘रोप वा जर्मनीमा पनि यस्तै केही हुनसक्छ भन्ने तथ्यका लागि हामी तयार हुनुपर्छ’, जर्मनीका भाइस चान्सलरसमेत रहनुभएका हाबेकले बर्लिनमा व्यापार सम्मेलनमा भन्नुभयो । चुनावी अभियानमा ट्रम्पले विश्वभरका वस्तुहरूमा उच्च शुल्क लगाउने धम्की दिनुभएको थियो । संयुक्त राज्य अमेरिका युरोपीय महाद्वीपको निर्यातका लागि प्रमुख गन्तव्य भएकाले यसले युरोपमा चिन्ता निम्त्याएको थियो । सोमबारको ट्रम्पको घोषणाले उहाँका धम्कीहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने सङ्केत गरेको हाबेकले बताउनुभयो ।

‘युरोपेली सङ्घ (इयु) ले यसको प्रतिक्रिया एकजुट रूपमा दिनुपर्छ र युरोपको रूपमा एकसाथ बोल्नुपर्छ’, महाद्वीपका नेताहरूले प्रतिशोधात्मक उपायहरूका बारेमा सोच्नुअघि संवाद खोज्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो,‘अन्त्यमा शुल्कबाट अमेरिकासहित सबैले हार्छन् भन्ने स्पष्ट पार्नुपर्छ ।’ क्यानाडा र मेक्सिकोमा कर लगाउने वाचा गरेर ट्रम्पले वासिङ्टनसँग स्वतन्त्र व्यापार सम्झौता भएका दुई देशलाई लक्षित गरिरहेको उहाँले उल्लेख गर्नुभयो । ‘जसका आधारमा हामीले आफ्नो आर्थिक, औद्योगिक र विदेश नीतिहरू समायोजित गरेका छौँ, ती नियमहरू बढी कमजोर हुँदैछन् वा तिनीहरूको पालना गरिँदैन’, हाबेकले भन्नुभयो ।

ट्रम्पले विगतमा इयुलाई संयुक्त राज्य अमेरिकासँग ठूलो व्यापार अधिशेषका लागि आलोचना गर्नुभएको थियो । उहाँको पहिलो कार्यकालमा वासिङ्टनले युरोपेली इस्पात र आलुमिनियम निर्यातमा कर लगाउँदा इयुलाई अमेरिकी सामानहरूमा कर लगाउन उत्प्रेरित गरेको थियो । जर्मनीको निर्यातमुखी अर्थतन्त्र नयाँ अमेरिकी शुल्कहरूबाट विशेष रूपमा प्रभावित हुनेछ । त्यसले एक प्रतिशत विकासदर घटाउन सक्ने केन्द्रीय बैंकले हालै चेतावनी दिएको छ ।