जनता टाइम्स

६ माघ २०८१, आईतवार १२:४४

सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी


बेलबारी, माघ ६ । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्ती-बस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घर-घरमा सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताउनुभयो । भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताउनुभयो ।

असी वर्षीय उहाँले भन्नुभयो,‘नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।’ सुरुआती समयमा एउटा सिरक बनाएको रु पाँच थियो । अहिले बढेर रु आठ सय पुगेको लतिफले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री (धुनिया) बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।’

घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताउनुभयो । ‘आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घर-घरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्’, उहाँले भन्नुभयो ।

तीनदेखि पाँच जनाको समूहमा उहाँहरूले काम गर्नुहुन्छ । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उहाँहरूको समूहले दैनिक रु १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिनुभयो । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उहाँले बताउनुभयो ।