जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार १०:४७

महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा


काठमाडौं, फागुन २४ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस–२०२५ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ,‘आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ ।’

नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री डा. राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताउनुभएको छ ।

उहाँले विगतदेखि नै आफू महिलाअधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री राणाले भन्नुभएको छ,‘महिलाका जायज आवाजहरूलाई सुनिने र देखिने गरी नीतिगत सुधार गर्ने काममा म निरन्तर रूपमा लाग्ने प्रण आजका दिनमा गर्न चाहन्छु ।’ उहाँले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको क्षमता वृद्धि गरी राज्य सञ्चालनका क्षेत्रमा उनीहरूको पहुँच पुर्‍याइ किशोरीहरूको भविष्य सुनिश्चिताका लागि एकताबद्ध भएर लाग्न अनुरोध गर्नुभएको छ ।