काठमाडौं, १६ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद पक्राउ परेको सम्बन्धी सूचना प्राप्त भएको जानकारी दिए ।
संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो । यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ । संसद नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ ।
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ । शवलशमशेर राणा राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको आरोपमा पक्राउ परेका हुन् ।
प्रतिनिधिसभा नियमावली अनुसार पक्राउ पर्दैमा तत्काल राणाको सांसद पल निलम्बन हुने छैन । प्रहरीले उनी विरूद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र उनको सांसद पद निलम्बनमा पर्नेछ ।
यस्तो अवस्थामा राणाले सांसदको रुपमा तलब–भत्ता पाउने छैनन् । उनले सांसदका रूपमा प्राप्त हुने अधिकार पनि प्रयोग गर्न पाउने छैनन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २४८ को ५ अनुसार तत्काललाई भने राणा संसदीय गतिविधिमा सरिक हुने छैनन । राणाले सफाइ पाए वा थुनामुक्त भए त्यसको सूचना सभामुखलाई दिनुपर्छ । त्यसपछि मात्रै राणा संसदीय गतिविधिमा सरिक हुन पाउनेछन् ।













प्रतिक्रिया दिनुहोस्