जनता टाइम्स

१५ चैत्र २०८१, शनिबार २०:०९

जस्तोसुकै परिस्थितिमा पनि मनोबल उच्च बनाउनू– महानिरीक्षक दीपक थापा


काठमाडौं, १६ चैत्र । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउधनको सुरक्षा गर्नु आफूहरूको प्रमुख जिम्मेवारी भएको बताउनुभएाके छ । साथै, उहाँले जस्तोसुकै विषम परिस्थितमा पनि उच्च मनोवलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी काम गर्न निर्देशन पनि दिनुभएको छ।

शनिबार प्रहरी हेडक्वार्टरबाट समसामयिक विषयमा निर्देशन दिंदै उहाँले यस्तो बताउनुभएको हो । महानिरीक्षक थापाले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभयो ।

आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारबाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्नेगरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिनुभयो । अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवं गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।