जनता टाइम्स

३१ चैत्र २०८१, आईतवार ०९:००

ज्ञानेन्द्रलाई माधव नेपालको चेतावनी : सडकमा अशान्ति मच्चाएर गद्धी पाइँदैन, राजा बन्ने सपना नदेख्नू


काठमाडौं, चैत ३१ ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

कालीकोटको रास्कोटमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिनुएको हो । ‘राजा फर्कने चर्चा बेमौसमी बाजा हो, नेपालमा राजाको अब कुनै काम छैन, त्यो पुरानो कुरा भइसक्यो,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो ।

उहाँले वंशजको आधारमा शासन गर्ने समय सकिएको उल्लेख गर्दै अब जनताबाट निर्वाचित प्रतिनिधिहरूकै शासन रहने प्रष्ट पार्नुभयो । पूर्वराजा सत्तामा फर्कन चाहे पार्टी खोली चुनाव जित्नुपर्ने बताउँदै नेपालले भन्नुभयो, ‘सडकमा अशान्ति मच्चाएर गद्धीमा फर्कन पाइँदैन।’

उनले हालै भएको हिंसात्मक घटनाहरू स्मरण गर्दै भन्नुभयो, ‘चैत्र १५ मा हाम्रो पार्टी अफिस जलाइयो, पसलबाट रक्सी चोरियो, पत्रकारलाई जीवितै जलाइयो, एक युवकको हत्या भयो र सर्वसाधारणका घरमा आगजनी गरियो। यस्तो हिंसात्मक तरिकाले सत्ता फर्किने सम्भावना छैन।’

अध्यक्ष नेपालले अधिनायकवादी सोचप्रति असहमति जनाउँदै लोकतान्त्रिक अभ्यास सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली विशेषताको समाजवाद वा वैज्ञानिक समाजवादतर्फ अघि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो। सरकारप्रति असन्तुष्टि जनाउँदै उहाँले सुधार आवश्यक रहेको सुनाउनु भयो।