जनता टाइम्स

४ बैशाख २०८२, बिहीबार ०७:२२

देउवा निवास बूढानीलकण्ठबाट सशस्त्रको सेटै फेरियो


काठमाडौं, ४ वैशाख ।  केही दिनयता सरकार फेरबदलको चर्चा चलिरहेको अवस्थामा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासबाट सशस्त्र प्रहरीको सेटै परिवर्तन भएको छ ।
स्रोतका अनुसार देउवा निवास बूढानीलकण्ठबाट सशस्त्र प्रहरी निरीक्षक सुरज बस्नेतसहितको सेटलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको छ ।

‘देउवा निवासमा तैनाथ सशस्त्र प्रहरीको सुरक्षा टिम परिवर्तन भएको छ । राजनीतिक भेटघाटको क्रममा सूचना लिक भएको या अरू कारण पनि हुन सक्छ’, स्रोतले भन्यो, ‘पछिल्लो केही दिनयता देउवा निवासमा नेताहरूको बाक्लो आउजाउ चलिरहेको थियो। त्यहीबीचमा बूढानीलकण्ठ मंगलबार सशस्त्रको पूरा टिम परिवर्तन भएको छ ।’स्रोतका अनुसार एकजना सिपाहीबाहेक सशस्त्रका करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको छ ।

सशस्त्र प्रहरी निरीक्षक बस्नेतको स्थानमा नयाँ कमान्डरसहितको टोली देउवा निवासमा तैनाथ भइसकेको छ । तर हलचोकले यसबारे पुष्टि गरेको छैन । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेसँग यसबारे बुझ्न खोजे पनि फोन सम्पर्क हुन सकेन ।
सशस्त्रकै एकजना अधिकारीका अनुसार यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलैसमम्मको सेट फेरिएको हो । एकजनाले गल्ती गरेमा उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको हो। सशस्त्रले यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छैन । तर, सत्ता राजनीतिमा हलचल भइरहेका बेला बूढानीलकण्ठले सुरक्षा टिम फेर्नुलाई अर्थपूर्ण मानिएको छ ।

हलचोकले सशस्त्र प्रहरी बल विशेष सुरक्षा कार्यदलबाट भीआईपीहरूको सुरक्षाका लागि अवस्था हेरी इन्सपेक्टर या डीएसपीको कमान्डमा १५ जनाको टोली खटाउने गरेको छ । तर त्यो संख्या २५ जनासम्म पनि पुग्छ । देउवा निवासमा २५ कै संख्यामा सशस्त्र प्रहरी तैनाथ थिए । यसअघि चैत १५ मा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको थियो। सशस्त्र प्रहरीले पूर्वराजाका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।
डीएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको थियो ।