जनता टाइम्स

५ बैशाख २०८२, शुक्रबार ११:१३

सांसद राईको हिउँदे अधिवेशनको अनुपस्थितिको सूचना बर्खे अधिवेशनमा पेस गर्ने तयारी


काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्य माया राईको अघिल्लो अधिवेशनको अनुपस्थितिको सूचना पछिल्लो अधिवेशनमा पेस गर्ने तयारी गरेको छ । सांसद राई १८ माघ २०८१ देखि १९ चैत २०८१ सम्म चलेको हिउँदे अधिवेशनमा एक दिन पनि सभाको बैठकमा उपस्थित भएकी थिइनन् ।

अनुपस्थितिको सूचना संसदमा पेश गर्ने गरी निवेदन समेत उनले सभामुख देवराज घिमिरे र संघीय संसद सचिवालयलाई दिएकी थिइनन् । निवेदन आएकाहरूको अधिवेशनको अन्तिम दिन सभामुख घिमिरेले संसदमा अनुपस्थितिको सूचना पेस गरेका थिए । जसलाई सभाले अनुमोदन गरिसकेको छ । तर, अघिल्लो अधिवेशनमा पुरै अवधि संसदमा नगएकी राइको भने अनुपस्थितिको सूचना सदनमा पेश हुन पाएन ।

८ महिनादेखि फरार सांसदको तलब नियमित

ढिलो गरी उनले अनुपस्थितिको सूचना संसद पठाएकी थिइन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका स्वकिय सचिवाले राईको अनुपस्थितिको निवेदन ढिलो गरी सभामुकहाँ पठाएका थिए । अब सांसद राइको अघिल्लो अधिवेशनको अनुपस्थितिको सूचना पछिल्लो अधिवेशनमा पेश गर्ने तयारी भएको छ । यसो गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा समेत संसद् सचिवालयका अधिकारीहरू छलपफलमा छन् ।

सांसदको अघिल्लो अधिवेशनको अनुपस्थितिको सूचना पछिल्लो अधिवेशनमा पेश नगर्न नपाइने भनेर नलेखिएको भन्ने तर्क गर्दै राईको अनुपस्थितिको सूचना अगाडि बढाउन लागिएको छ । संसद्को वर्षे अधिवेशन यही १२ वैशाखबाट बस्दैछ । प्रतिनिधिसभा नियमावलीको नियम २१३ मा अस्वस्थ वा काबुबाहिरको परिस्थितिमा लगातार १० वटा बैठकमा अनुपस्थित रहनुपर्ने भए त्यसको सूचना सभामुखमार्फत सदनलाई दिनुपर्ने व्यवस्था छ ।